काठमाडौँ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
देशमा विपद्को अवस्था सिर्जना भएका बेला सरकारको राहत प्रयासमा नागरिकस्तरबाट समेत योगदान पु¥याउने उद्देश्यले केन्द्रले उक्त रकम सोमबार कोषको राष्ट्रिय बैंकस्थित खातामा जम्मा गरेको जनाएको छ।
केन्द्रका अनुसार राहत रकम संस्थाका ३९ जना सक्रिय सदस्यबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु ७२ हजार ७२१ र केन्द्रको तर्फबाट थप गरिएको रु ३८ हजार ३९० बाट तयार गरिएको हो।
केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले विपत्तिको समयमा राज्यको प्रयासलाई नागरिकस्तरबाट सहयोग गर्नु सामाजिक दायित्व भएको बताए।
“महाविपत्तिमा परेका नागरिकलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” उनले भने, “राहतमा मात्र सीमित नभई आगामी दिनमा पुनर्निर्माण र प्रभावित नागरिकलाई आवश्यक मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा पनि प्रत्यक्ष रूपमा सहयोग गर्ने हाम्रो योजना छ।”
उनका अनुसार विपद्का बेला तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।
वि.सं. २०७७ मा स्थापना भएको मार्क्सवादी ज्ञान केन्द्र पठन संस्कृति, अध्ययन तथा अनुसन्धानलाई केन्द्रमा राखेर क्रियाशील सामाजिक संस्था हो। केन्द्रले आफूलाई कम्युनिस्ट तथा वामपन्थी विचारधारासँग सम्बन्धित व्यक्तिहरूको साझा वैचारिक मञ्च तथा अनौपचारिक स्कुलका रूपमा अघि बढाउँदै आएको छ।
केन्द्रले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान–प्रविधि तथा नेपाल चिन्तनलगायतका विषयमा पाठ्यक्रम निर्माण गरी अध्ययन, अध्यापन, खोज तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।