ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले आज विहान ललितपुरको बाँडेगाउँ पुगेर संकल्प पूजा गर्दै दीप प्रज्वलन गरी सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ ओैं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् ।
महायज्ञ उद्घाटनका लागि भट्टराई आश्रम आइपुगेका प्रधानमन्त्री देउवालाई पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीद्वय शरदसिंह भण्डारी, ओमकार प्रसाद श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, एसएसपी यज्ञविनोद पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
आजबाट सुरु भएको महायज्ञ मंसिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले यजमान बनेर आज महायज्ञको पूर्वाङ्ग गर्नुभयो, यो ९ दिनसम्म चल्छ ।' पुरोहित तिमल्सिनाले भने, ‘म सहित चार जना पुरोहितहरु रामकृष्ण न्यौपाने, नारायण घिमिरे र नारायण तिमल्सिना छौं।'
वि.सं. २०१५ सालमा नेपालको पहिलो संसदको सभामुख भएका कृष्णप्रसाद भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदको प्रधानमन्त्री भएका थिए । वि.सं. २००३ सालमा नेपाली काँग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए ।
नेपाली राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । भट्टराईको निधन पश्चात् हरेक वर्ष उनको सम्झनामा जन्मोत्सव र स्मृति दिवसको अवसर पारेर बाँडेगाउँ आश्रममा कार्यक्रम गरिँदै आएको छ ।