काठमाडौं । सेयर बजारमा पछिल्लो साता निरन्तर दोहोरो अंकको गिरावट आएको छ । बैंकिङ्ग प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको नेप्सेमा नेपाल राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण समेत सेयर बजार थप प्रभावित भएको हो ।
गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । पाँच दिनमा नेप्से १४० अंकले घटेको हो । बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०.८९, सोमबार १४.८८, मंगलबार ४६.४६ र बुधबार २३.३३ अंकले घटेको हो ।
राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएपछि घट्दो बजार थप प्यानिकको अवस्थामा पुगेको हो । केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न समेत रोक लगाएको छ । आगामी असार मसान्तमा सिडी ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बैंकहरु रहेका छन् ।
बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा बजारमा ठूलो लगानीका लागि स्रोत उपलब्ध छैन भने यसअघि नै सेयर धितोमा लागू भएको ४।१२ नीतिका कारण बुलिस बजार वियरिस प्रवृत्तितिर फर्किएको हो ।
आज नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा रोकिएको हो । आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५।५० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ८ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।