Logo

आइतवार, श्रावण २४ गते २०८३

images

९३ रुपैयाँमा खरिद गरेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा

९३ रुपैयाँमा खरिद गरेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
९३ रुपैयाँमा खरिद गरेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा
images

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा ५–५ रुपैयाँ बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३३ र मट्टीतेल १ सय ३३ रुपैयाँ पुगेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले ३ दिनअघि (मार्च १ मा) पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढाए पनि सरकारले इन्धनमा लगाएको अनावश्यक कर घटाएर राहत दिन भने कुनै चासो दिएको छैन ।

आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९.४८ रुपैयाँ र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ कर लाग्छ । त्यस्तै ८८.८३ रुपैयाँमा किनिएको मट्टीतेलमा १३.३६ रुपैयाँ र १६४१.२३ रुपैयाँमा खरिद गरेको ग्यासमा २८०.३० रुपैयाँ कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च÷मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।

निगमले इन्धनमा अझै घाटा रहेको जनाएको छ । पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा नाफा छ । पूर्वाधारका नाममा प्रतिलिटर १५ रुपैयाँ कर थपिए पनि त्यस्तो बचत सरकारी कोषमा छैन । सुरुमा बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा रकम उठाउन थालिए पनि यो परियोजना सुरु भएको छैन । रकम विभिन्न पूर्वाधारमा खर्च भएको अर्थ मन्त्रालयका अधिकारीहरूको दाबी छ ।

‘द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ, मूल्य समायोजन नहुँदा निगमको १५ दिनको नोक्सानी ३ अर्ब ९ करोड थियो,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले भने, ‘समायोजनपश्चात् निगमको नोक्सानी ५९ करोड घटेको छ । अब १५ दिनको नोक्सानी २ अर्ब ५० करोड हुने अनुमान छ ।’

कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगम व्यवस्थापनले सानो अंक (करिब ३ रुपैयाँसम्म) मात्रै समायोजन गर्न सक्छ । उक्त अंकले घाटा खासै कम नभएपछि निगम सञ्चालक समितिले प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको कार्कीले जानकारी दिए । ‘चालु आर्थिक वर्ष २०७८-७९ को फागुन मसान्तसम्म निगमलाई करिब २८ अर्ब नोक्सानी भएको छ,’ उनले भने, ‘यही अवस्था रहे ऋण लिएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

निगमले लागू गरेको मूल्यले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत माघ १९ मा मूल्य समायोजन गर्दा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ पुगेको थियो । उक्त मूल्य पनि इतिहासकै उच्च थियो ।आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - ०७:३६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology