काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज कारोबारमा आएका २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता शेयर खरीद बिक्रिबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् । हाइड्रोपावर समुह सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समुह ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समुह ४.२३ प्रतिशतले, फाइनान्स समुह ४.६५ प्रतिशतले , निर्जीवन बीमा समुह ४.२७ प्रतिशत, र उत्पादन तथा प्रशोधन समुह ४.६१ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज कारोबार भएका सबै कम्पनीहरु घटेका छन् । यसमध्ये पनि अप्पर तामाकोशी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
आज अपर तामाकोशीको सबैभन्दा धेरै ३२ करोड ८४ लाख, अरुण भ्याली हाइड्रोको २८ करोड ३९ लाख, निफ्राको २५ करोड ३२ लाख, नेशनल हाइड्रोको २५ करोड २७ लाख, तथा अपि पावरको २१ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।
बैंकहरुले ब्याजदर बढाउनु, एमसीसी पेचिलो बन्दै जानु र पछिल्लो राजनीतिक परिस्थितिले सेयर बजार प्रभावित भएको शेयरबाजर सम्बन्धी जानकारहरु बताउँछन्।