काठमाडौं । आगामी जेठभित्र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सकारात्मक माहोल सिर्जना भएको छ ।
बालुवाटारमा शनिबार सम्पन्न गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्र मार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । त्यसैको सकारात्मक प्रभाव आज बजारमा सकारात्मक उछाल आएको हो ।
आज बजार १०५.५५ अंकले बढेर नेप्से परिसूचक २ हजार ८८५.५३ को विन्दुमा आई आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ ।
यो दिन २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँमा किनबेच भएका छन् । यस दिन ८१ हजार ७०६ वटा कारोबार भएका छन् ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहको मूल्य बढेको छ । बैकिङ समूह ४६.९९ अंक, व्यापार समूह १४६.३३ अंक, होटल तथा पर्यटन समूह १४१.४८ अंक, विकास बैंक समूह ३१८.२२ अंक, जलविद्यूत समूह १८२.९ अंक, वित्त समूह १५२ अंक, निर्जिवन बीमा समूह ४३१.६१ अंक, उत्पादन तथा प्रशोधन समूह १९७.७५ अंक, अन्य समूह ८३.६९ अंक, लघुवित्त समूह १७३.४६ अंक, जीवन बीम समूह ५४८.०६ अंक, प्युचल फण्ड समूह ०.२८ अंक र लगानी समूह ५.६९ अंकले बढेका छन् ।
सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
यसदिन अपि पावर कम्पनीको २६ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको ४ लाख ८५ हजार ८१४ कित्ता सेयर खरीद बिक्री भएका छन् । यस्तै नेपाल टेलिकमको २३ करोड ६२ लाख, एचआईडिसीएलको २३ करोड ४ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख, र अपर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधक कमाउने कम्पनीहरु
पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक र बृद्धभुमी हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै र अरुण भ्याली हाइड्रोपावरको ९.०२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी, प्रोगेशिभ फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनीहरु
यसदिन म्युचुअल फण्डका इकाईहरु र डिबेञ्चरको मूल्यमा आज गिरावट देखिएको छ । ९.५० प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ को ३.२३ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को २.२३ प्रतिशत, मेगा म्युचुअल फण्ड १.९३ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड १.९० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड २ को १.३६ प्रतिशतले मूल्य घटेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको पनि सेयरमूल्य सामान्य घटेको छ ।
