काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा उछाल आएको छ । यससाताका ३ दिनमै नेप्से १४२ अंकले बढेको छ ।
आज नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।
सोही अंकले बृद्धि हुँदा २३२ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख, एनटिसीको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको ।
८ वटा कम्पनीको शेयरमूल्यमा उच्च रुपमा वृद्धि भएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, न्यादि जलविद्युत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको आज सर्किट लेभलमा कारोबार भएका छन् ।
बढ्दो बजारमा आज माउन्टेन इनर्जी नेपालले ३.५२ प्रतिशत, नेपाल एसबीआई बैंकको २ प्रतिशत, शिवम् सिमेन्टको १.४९ प्रतिशत, रुरू जलविद्युतले १.२५ प्रतिशत घटेको छ।
बैंकिङ प्रणालीमा तरलता केही सहज भएसँगै सेयर बजारले गति लिएको हो । साथै, पछिल्लो समय कोरोना संक्रमण फैलिँदै गएसँगै लकडाउन हुने हल्लाका कारण पनि लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको बताइएको छ ।