काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ । मतदानमा ४६ सय ८१ मतदाताले भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा ४७ सय ४३ प्रतिनिधि सहभागी थिए । बिहान ११:२३ देखि सुरु भएको मतदान निकै ढिला सकिएको छ । निर्वाचन समितिले केहिबेरमै सभापति उम्मेदवारको मतगणना गर्ने जनाएको छ । त्यसका लागि मतपत्र जम्मा गरेर गणनास्थल राष्ट्रिय सभागृह जम्मा गरिएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डाक्टर शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । पहिलो चरणमा कसैले पनि ५० र १ पुर्याउन नसके फेरि दोस्रो चरणको निर्वाचन हुनेछ ।
मतगणना स्थलमा रहेका हाम्रा सहकर्मीले जनाएअनुसार मतगणना स्थलको सुरक्षामा ५ वटा सिसि क्यामेरा जडान गरिएको छ । काङ्ग्रेसको मंसिर २४ गते १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको हो ।