Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मैत्रीयको १४औँ साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न

मैत्रीयको १४औँ साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न

दैनिकी न्यूज

१५, कार्तिक २०७८
मैत्रीयको १४औँ साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न
images

भक्तपुर । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा सम्पन्न भएको छ । सहकारीको उद्देश्य एवम् मूल्य–मान्यताअनुरूप कार्य गरी छोटो समयमै वित्तिय क्षेत्रमा विषेश पहिचान बनाउन सफल मैत्रियको यस वर्षको साधारणसभा कोभिड महामारीका कारण संस्थासम्बद्ध पदाधिकारी एवम् सदस्यहरूका साथै सीमित अतिथिहरूको उपस्थितिमा भर्चुअल माध्यमबाट तमाम साधारण सदस्यहरूसँग जोडिँदै सम्पन्न भएको हो ।

सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका सूर्यविनायक नगरपालिका भक्तपुरका सहकारी शाखाप्रमुख राजेन्द्रकुमार श्रेष्ठले सभा उद्घाटन गर्दै सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने धारणा राख्नुभयो । सहकारी क्षेत्रमा रहेका विकृति–विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति–निर्देशिकाबमोजिम संस्था सञ्चालन भएमा समस्या नआउने बताउनुभयो । एक व्यक्ति एक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँको तर्क थियो ।

सभापतिको आसनबाट संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी संस्थाहरूबीचको अस्वस्थ प्रतिष्पर्धाबाट टाढै रही मितव्ययिता, पारदर्शिता, कानुनको पालना र संस्थागत सुशासनको लागि प्रतिबद्ध रही सदस्यहरूको आर्थिक सशक्तिकरणको लागि अघि बढ्दै उत्कृष्ट सेवा दिने कुरामा मैत्रिय बचत तथा ऋण सहकारी संस्था प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

साधारणसभामा अर्का अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजूले सहकारी अभियानको सुदृढिकरणको लागि जिल्ला बचत सङ्घ हरदम लागिपरेको उल्लेख गर्दै वित्तीय क्षेत्रमा देखापरेको हालको विसङ्गति हटाउन कर्जा सूचना केन्द्र स्थापना हुनुपर्नेलगायतका महत्वपूर्ण सुझावहरू दिनुभयो ।

संस्थाका सचिव सुमन सिलवाल, कोषाध्यक्ष दिवाकर सिलवाल र लेखा समिति संयोजक भाइकाजी खत्रीद्वारा आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसअनुसार कुल सदस्य सङ्ख्या १४ सय रहेको संस्थाले आ.व. ०७७÷७८ मा ३६ करोडको कारोबार गरेको जानकारी दिइयो ।

संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको सभापतित्वमा सम्पन्न साधारण सभामा अतिथिहरू बालकोट साकोसका जयराज पौडेल, बन्धुत्व साकोसका सानुभाइ सिलवाल, सृजना साकोसका रत्नलाल श्रेष्ठ र अमरज्योति साकोसका कल्याणचन्द्र भट्टराईले पनि आ–आफ्नो धारणा राख्नुभयो । उपाध्यक्ष कुवेर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन लेखा सुपरिवेक्षण समिति सदस्य राजेन्द्र पराजुलीले गर्नुभएको सभामा विगत वर्षमा झैँ छनोटमा परेका सदस्यहरूलाई जेष्ठनागरिक सम्मानलगायत विभिन्न विधामा पुरस्कृत एवम् सम्मानित गरिएको संस्थाको सञ्चालक समितिका सदस्य नवीन उप्रेतीले जानकारी दिनुभयो ।

 

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - ०७:२९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology