काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार भारी अंकले घटेको छ । आज बजार ७३.०५ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६ सय ८५.४२ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.९४ अंकले घटेर ५०६.३३ को विन्दुमा समेटिएको छ। परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा किनबेच भएका छन्।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।
यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। सूचीकृत भएयता मनकामना स्मार्टको मूल्य प्रायः १० प्रतिशतका दरले बढ्दै आएको छ। सोमबार कम्पनीको मूल्य प्रतिकित्ता १५९३ रुपैयाँ ७० पैसा पुगेको छ।
त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। यी ३ बाहेक सबै कम्पनीको मूल्य घटेको छ।
गुमाउनेमा गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि रहे। ती सबै कम्पनीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घट्यो।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १५ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ९८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५६ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड ३६ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड २२ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १० करोड ६८ लाख रुपैयाँ र मेगा बैंकको १० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।