काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलब ४२ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।
साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्से ७१ अंकले बढ्दा आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७३ करोड ७७ लाख ८ हजार ६८५ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख, अपि पावरको ३१ करोड ५१ लाख, नेशनल हाइड्रोपावरको २९ करोड ३४ लाख र अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, छ्याङिद हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्श र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
