काठमाडौं । साउन १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएका मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीको सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि आइतवार साझ ५ बजेसम्म मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन १८ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार आइतवारसम्म १७ लाख ७६ हजार ७११ जना आवेदकहरुबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरिद माग भएको छ ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।