काठमाडौं । आजदेखि युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।