ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं. ४ प्युटारमा रहेको बगुवा खोलामा ढुङ्गाले लागेर एक जनाको मृत्यू भएको छ ।
बिहीबार दिउँसो माथी डाडामा निर्माण गर्दै गरिएको सडकबाट खसेको ढुंगाले लागेर जेसिबी अपरेटरको मृत्यू भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बागमती गाउँपालिका ३ माल्टाका वडाअध्यक्ष विजय कुमार लोका अनुसार मृत्यू हुनेमा सर्लाही घर भएका गोविन्द मगर छन् । हिरालाल थिङले सञ्चालन गरेको वासिङ सेन्टरमा काम गरिरहेका बेला माथिबाट आएको ढुंगाले अपरेटर मगरलाई लागेको वडाध्यक्ष लो ले दैनिकीन्युजलाई जानकारी दिए । वासिङ सेन्टर प्युटारकै हिरालालको रहेको उनले बताए । 'वासिङ सेन्टरमा काम गरिरहेको बेला अपरेटरलाई ढुङ्गाले लागेछ,' वडाध्यक्ष लोले भने, 'उनको घटना स्थलमै मृत्यु भएको देखिन्छ ।'
उता घटनाको विस्तृत विवरण आइनसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । पहिरोले बाटो अबरुद्ध भएपछि आश्राङबाट प्रहरी घटनास्थल प्युटार, बगुवा पैदल गईरहेको महर्जनको भनाई छ ।