Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाढीबाट जलविद्युत्मा १० अर्ब रुपैयाँको क्षति

बाढीबाट जलविद्युत्मा १० अर्ब रुपैयाँको क्षति

दैनिकी न्यूज

६, आषाढ २०७८
बाढीबाट जलविद्युत्मा १० अर्ब रुपैयाँको क्षति
images

काठमाडौं । गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू। १० अर्ब बराबरको क्षति भएको छ ।

स्वतन्तत्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इप्पानले) गरेको प्रारम्भिक अध्ययनअनुसार रू. १० अर्बको क्षति भएको हो । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बाढीका कारण निजीक्षेत्रका जलविद्युत् आयोजनाहरूमा १० अर्ब रुपैयाँको हारहारीमा क्षति भएको बताए ।

‘हाम्रो प्रारम्भिक अध्ययनले निजीक्षेत्रको आयोजनाहरूमा यतिका क्षति भएको देखिएको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘हामीले बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेका छौं । त्यो संयन्त्र बन्यो भने त्यसबाट नै क्षतिको पूर्ण विवरण आउनेछ ।’

गत हप्ता आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरू नराम्रासँग प्रभावित भएका छन् । विशेषगरी निर्माणाधीन आयोजनाहरू बढी प्रभावित भएका छन् । निर्माण सामग्री बगाउने, विद्युत्गृह डुबानमा पर्ने, बाँध भत्कनेलगायत क्षति भएको छ । यस्तै, प्रसारण लाइनका टावरहरू ढल्ने, आयोजना क्षेत्रका सडक भत्किनेजस्ता क्षति भएको छ । बाढीपहिरोका कारण अधिकांश निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू र प्रसारण लाइनहरूमा ठूलो क्षति भएको इप्पानले बताएको छ ।

इप्पानका अनुसार सबैभन्दा बढी क्षति कास्कीमा निर्माणाधीन ४२ मेगावाटको सुपरमार्दी जलविद्युत् आयोजनामा परेको छ । त्यहाँ निर्माणका लागि लगिएको अधिकांश सामग्री बाढीले बगाएको इप्पान अध्यक्ष आचार्यले बताए ।

इप्पानले क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । साथै, प्रभावित आयोजनाहरूलाई उचित राहत दिन पनि इप्पानले माग गरेको छ ।

इप्पानले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सरकारलाई उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको हो । ऊर्जा, गृह र अर्थ मन्त्रालयको प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय अध्ययन समिति बनाउनुपर्ने माग इप्पानको छ । त्यसमा ऊर्जा उत्पादकहरूको पनि प्रतिनिधित्व हुनुपर्ने इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

क्षतिको अध्ययनपछि राहतको उचित व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ‘यसपालि जलविद्युत् अयोजनाहरूमा भएको क्षति सामान्य छैन । २र४ करोड रुपैयाँको क्षति भएको भए हामी आफै समाधान गर्न सक्थ्यौं,’ उनले भने, ‘तर, अहिले अर्बांैको क्षति भएको छ । त्यसैले सरकारले यसमा आवश्यक राहत प्याकेज ल्याउन आवश्यक छ ।’

क्षतिका कारण निर्माणाधीन आयोजनाहरूको निर्माण अवधि कम्तीमा १ वर्ष लम्बिन सक्ने बताइएको छ । उनीहरूलाई थप लगानी पनि आवश्यक हुन सक्छ । त्यस्ता समस्यालाई पनि समाधान हुनेगरी राहत ल्याउनुपर्ने इप्पानको भनाइ छ ।

‘बैंकसँग वित्तीय व्यवस्थापन गर्दा थप कर्जा लगानी नगरिने भनेर सम्झौता गरिएको छ । अब हामीलाई थप कर्जा चाहिने अवस्था आएको छ,’ अध्यक्ष आचार्यले भने, ‘त्यसैले सरकारले पुनर्कर्जाको व्यवस्था पनि गर्नुपर्छ ।’

इप्पानले आयोजना स्थलसम्म पुग्ने क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्न माग गरेको छ । साथै, बाढीका कारण क्षति पुगेका प्रसारणलाइनहरू ब्नाउन तत्काल शुरू गर्न पनि इप्पानको माग छ ।

यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०५:४६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology