Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अध्ययन गरेर लगानी गर्न बोर्डको आग्रह

अध्ययन गरेर लगानी गर्न बोर्डको आग्रह

दैनिकी न्यूज

२६, जेठ २०७८
अध्ययन गरेर लगानी गर्न बोर्डको आग्रह
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखी सतर्क भएर लगानी गर्न पुनः सुझाव दिएको छ । यसअघि पनि बारम्बार सतर्क गराउँदै आएको बोर्डले मंगलवार पुनः सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीसँगै जोखिम पनि हुन्छ भन्ने कुरालाई ख्याल गर्न बोर्डले भनेको छ ।

हाल धितोपत्र कारोबारको दोस्रो बजारमा ९० प्रतिशत कारोबार अनलाइनमार्फत हुँदै आएकोमा अध्ययन र अनुसन्धान गरेर मात्र लगानी गर्न बोर्डले भनेको हो । लगानी गर्दा सम्बद्ध क्षेत्र, उद्योग तथा कम्पनीहरूको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लगानी गर्न सुझाव दिएको छ । साथै, लहैलहैमा नलागी लगानीको निर्णय लिन बोर्डले अनुरोध गरेको छ ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाहरू प्राप्त भएकाले यस विषयमा बोर्डले अध्ययन शुरू गरेको पनि बताएको छ । यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न हुँदा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुनसमेत बोर्डले सबैलाई सजग गराएको छ ।

देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्य सम्पादनको आधारभूत विश्लेषण ९प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण०, परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न बोर्डले सुझाब दिएको हो ।

‘शेयरबजार बढेको अवस्थामा लगानीकर्ताहरूको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरू चनाखो हुन जरुरी हुन्छ,’ बोर्डले भनेको छ, ‘हाम्रो बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकाले सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णय लिन लगानीकर्ताहरूलाई अनुरोध गरिन्छ ।’ यो खबर आजको आर्थिक अभियानमा छापिएको छ । 

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - ०६:२५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology