Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

दैनिकी न्यूज

२७, बैशाख २०७८
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ ।

यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन । आइतबार अबेरसम्मको राजनीतिक समीकरणअनुसार ओलीको विपक्षमा मत बढी आउने देखिएको छ ।

एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन् । उनीहरूले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले पनि मत नदिने संकेत गरिसकेको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । यद्यपि, माधव–झलनाथ पक्षका सांसदले राजीनामा दिए वा ‘फ्लोरक्रस’ गरेमा यो संख्या घट्ने देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा (माओवादी केन्द्र) को ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १–१ सांसद छन् ।

कांग्रेस र जनता समाजवादी पार्टीका २–२ सांसद निलम्बित छन् । माओवादी केन्द्रको ५४ सांसद रहेको पार्टी छाडेका ४ पदमुक्त भएपछि ४९ जना मात्र हुन् । यता, एमालेले प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीलाई प्रस्ताव पक्षमा मत दिन सांसदलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप उनले जारी गरेको जनाएका छन् ।

यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०६:३६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology