काठमाडौं । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ। लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको विक्री प्रबन्धकले जनाएको छ । यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा आज बिहीबार बिहान ६ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकोले मध्यभोटेकोशीको आईपीओमा आवेदन स्थगित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका सीईओ पारसमणि ढकालले जानकारी दिए। ‘यो आईपीओमा हालसम्म परेका आवेदन स्वीकार्य हुनेछ’, उनले भने।
निषेधाज्ञा जारी भएपछि सिन्धुपाल्चोकमा सर्वसाधारणलाई हिँडडुलमा समस्या भएपछि आईपीओ स्थगित गर्नुपरेको ढकालले जानकारी दिए। ‘अब परिस्थिति सहज भएपछि मात्र अर्को सूचना प्रकाशित गरी आईपीओमा आवेदन खुला गरिनेछ’, उनले भने।
कम्पनीले हिजो (मंगलबार) बाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। हिजो बुधबारसम्म यो आईपीओमा प्रभावित क्षेत्र र अन्य क्षेत्रका गरी कुल ३ हजार ३६९ आवेदकबाट ५ लाख ८८ हजार ३६० कित्ता खरिद आवेदन परेको थियो।