काठमाडौं । कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्।
‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’
धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्। धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै आएको छ। तर, न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ।
मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ आउँदै छ भन्ने हल्ला फैलिएपछि एक महिनाअघि ३ सय २५ रुपैयाँमा पाइने यो कम्पनीको सेयरको भाउ साढे ४ सय पुगेको छ। दुई महिनाअघि २ सय ८० रुपैयाँ रहेको एनसीसी बैंकको सेयर नबिलसँग मर्ज हुँदै छ भन्ने हल्ला चलाएर ३ सय ७० रुपैयाँसम्म पु¥याइएको थियो। यो कम्पनीको भाउ घटेर ३ सय १५ रुपैयाँमा झरिसक्यो। १ सय ७५ रुपैयाँको सिभिल बैंकको सेयरलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला फिँजाएर २ सय ४० रुपैयाँसम्म पु¥याइएको थियो। यो पनि अहिले घट्दो प्रवृत्तिमै छ।
नागरिक लगानी कोषले स्टक डिलर लिएपछि त झनै सजिलो भएको छ। कुनै पनि सूत्रबाट स्टक डिलरले कुन कम्पनीको सेयर किन्दै छ भन्ने जानकारी लिने र त्यही सेयर पहिले नै आफूले किनिहाल्ने परिपाटी विकास भएको ब्रोकर र लगानीकर्ता बताउँछन्।
‘सरकारले खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ। जुन कुरा ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।
नेपाल राष्ट्र बैंकले आफैं लगानीकर्ता भएको बैंकबाट ऋण लिन नपाइने भनेपछि बैंकका साहुजीहरूले मिलेमतो गरेजस्तै अहिले सेयर बजारमा पनि परस्परका कम्पनीको सेयर मूल्य बढाउने ‘खेल’ चलिरहेको लगानीकर्ता बताउँछन्। ‘एउटा समूह नै बनाएर कुनै कम्पनीको सेयर किन्ने र आ–आफूमै कारोबार गरेर भाउ बढाउँदै लाने गरिएको छ’, विश्लेषक तिवारी भन्छन्, ‘यो कुरा सबैलाई थाहा छ तर नियन्त्रण गर्न कोही तयार छैन।’
नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे ७ सय रुपैयाँमा स्थिर भयो। त्यसलाई बढाउन केही महिनाअघि अनौठो हल्ला चलाइयो। नगद लाभांश दिँदै आएको यो कम्पनीलाई यो वर्षचाहिँ बोनस सेयर ‘दिन लगाउने’ भनेर भाउ बढाउन थालियो। ‘सरकारको बहुमत स्वामित्वमा भएको कम्पनीको सञ्चालक समितिलाई सेयर बजारका खेलाडीले बोनस सेयर दिन बाध्य पार्छौं भनेर सेयरको भाउ बढाउन सकिन्छ भने यस्तो बजारमा लगानीकर्ता कति सुरक्षित होलान् रु’, तिवारी प्रश्न गर्छन्।
एउटा कम्पनीका प्रवद्र्धकले अर्को कम्पनीको सेयर किन्ने र त्यसपछि मर्जरका लागि छलफल गर्ने भनेर पत्र लेख्ने गरेको लगानीकर्ता बताउँछन्। यसरी भ्रम फैलाएर ठूला कम्पनीका मालिकले नै सेयर बजारबाट पैसा बटुल्न थालेका छन्। कुन कम्पनीको नाफा र प्रतिसेयर आम्दानी कति आउँदै छ भन्ने वित्तीय विवरण प्रकाशन नहुँदै धेरैजसो ठूला लगानीकर्तालाई थाहा भइसक्छ।
त्यसकै आडमा केही व्यक्तिले सेयर किन्दै र भाउ बढाउँदै जान्छन्। मूल्य दोब्बर भएपछि नयाँ लगानीकर्ता आकर्षित हुन्छन्। तर, त्यतिञ्जेल ‘खेलाडीहरू’ले लिनुपर्ने नाफा लिइसक्छन् र आफ्नो सेयर बेचेर निस्कन्छन्। यस्तो बेला अन्तिममा लगानी गर्ने लगानीकर्ता डुब्छन्। अहिले यस्तो जोखिम बढ्दै गएको विश्लेषक बताउँछन्।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।