Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आधार दर घट्दा सस्तो बन्दै कर्जाको ब्याजदर

आधार दर घट्दा सस्तो बन्दै कर्जाको ब्याजदर

दैनिकी न्यूज

२१, माघ २०७७
आधार दर घट्दा सस्तो बन्दै कर्जाको ब्याजदर
images

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर घटेसँगै ऋणीहरूले कम ब्याजदरमा कर्जा पाउनेछन् ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको पुस मसान्तमा आधार दर क्रमशः घटेर सबैभन्दा कम ५ दशमलव ६१ प्रतिशतदेखि सबैभन्दा बढी ८ दशमलव ४५ प्रतिशत पुगेको छ । यसअवधिमा सबैभन्दा कम आधार दर सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको रहेको छ । एक वर्ष अघिसम्म बैंकहरूको आधार दर दोहोरो अंकसम्म रहेको थियो । जसले गर्दा कर्जाको ब्याजदरसमेत उच्च थियो । तर, चालू आवमा भने बैंकहरूको आधार दर एकल अंकमा झरेको छ ।

गत आवको दोस्रो त्रैमासकोे तुलनामा वाणिज्य बैंकहरूको आधार दर न्यूनतम शून्य दशमलव ९९ प्रतिशत विन्दुदेखि २ दशमलव ५३ प्रतिशत विन्दुसम्म घटेको छ । यसअनुसार बैंकहरूको आधार दर गत आवको दोस्रो त्रैमासको तुलनामा औसत २ दशमलव ३० प्रतिशत विन्दुले घटेरको छ । यसरी घटेर चालू आवको पुसमा आधार दर औसत ७ दशमलव १९ प्रतिशतमा सीमित छ ।

वाणिज्य बैंकहरूको आधार दर घटेसँगै अब फ्लोटिङ ब्याजदर पनि घट्ने तर स्थिर ब्याजदरमा यसले कुनै प्रभाव नपार्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘सबै बैंकको आधार दर घटेको छ । अब ऋणीले सस्तो फ्लोटिङ ब्याजदरमा कर्जा पाउँछन्,’ उनले भने । चालू आवको पुसमा सानिमा बैंकको आधार दर ६ दशमलव ८३ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा ८ दशमलव ६२ प्रतिशत रहेको थियो ।

गत आवको पुसमा १० दशमलव ३५ प्रतिशत आधार दर भएको सिटिजन्स इन्टरनेशनल बैंकको चालू आवको सोही अवधिमा ८ दशमलव ४५ प्रतिशतमा झरेको छ । बैंकको आधार दर घटे पनि वाणिज्य बैंकहरूमध्ये यो दोस्रो बढी आधार दर हो । सिटिजन्स इन्टरनेशनल बैंकका प्रवक्ता बोधराज देवकोटा अहिले बैंकहरूको निक्षेपको ब्याजदरमा आएको नियन्त्रणले गर्दा आधार दर घट्न गएको बताउँछन् । उनका अनुसार बैंकहरूले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने बताएका थिए ।

‘विगतमा मुद्दती निक्षेपमा १० प्रतिशतसम्म पाइन्थ्यो । तर, अहिले घट्दै धेरै बैंकको १ वर्षे निक्षेप ६–७ प्रतिशतमा सीमित भएको छ । साथै सामान्य बचतको ब्याजदर पनि न्यूनतम विन्दुमा आएको छ,’ देवकोटाले अभियानसँग भने, ‘कुन बैंकले कतिसम्म निक्षेपको ब्याजदर घटाए त्यहीअनुसार आधार दरमा प्रभाव पर्छ ।

अरू फ्याक्टर पनि हुन्छन् तर निक्षेपको ब्याजदर घटेकाले आधार दर कम भएको हो ।’

सबैभन्दा कम आधार दर हुने राष्ट्रिय वाणिज्य बैंकपछि दोस्रो बैंक नबिल हो । यस्को आधार दर ५ दशमलव ७६ प्रतिशत रहेको छ । यसैगरी क्रमशः स्ट्यान्डर्ड चार्टर्डको ६ दशमलव शून्य ७, नेपाल बैंकको ६ दशमलव १९, एभरेष्टको ६ दशमलव ३४, नेपाल इन्भेष्टमेन्टको ६ दशमलव ५६, एनआईसी एशियाको ६ दशमलव ६५, ग्लोबल आईएमईको ६ दशमलव ६७, सानिमा र हिमालयनको ६ दशमलव ८३ प्रतिशत आधार दर कायम रहेको छ । यसबाहेक प्रभु, लक्ष्मी, सनराइज, मेगा, सिद्धार्थ, एनएमबी, नेपाल एसबीआई, माछापुच्छ्रे, बैंक अफ काठमाडौं, कृषि विकास बेंक, प्राइम, सेञ्चुरी, कुमारी, नेपाल क्रेडिट एन्ड कमर्श र नेपाल बंगलादेश बैंकको आधार दर ७ प्रतिशतदेखि ८ प्रतिशतको बीचमा रहेको छ ।

बजारमा पर्याप्त तरलता पनि रहेको र आधार दर पनि घटेकाले ऋणीहरूलाई फाइदा भएको सिटिजन्स बैंकका प्रवक्ता देवकोटाको भनाइ छ ।

‘केही हदसम्म सस्तो दरमा ऋण उपभोग गर्दा उनीहरूको लागत पनि घट्छ । यसले संस्थागत रूपमा र समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पार्छ,’ उनले भने ।

दोस्रो त्रैमासको आधारमा अहिले पाँचओटा बैंकको कर्जा पूँजी निक्षेप अनुपात ९सीसीडी० भने केही कसिलो देखिन्छ । मेगा, एनएमबी, सानिमा, प्राइम बैंक र बैंक अफ काठमाडौंको सीसीडी ८० प्रतिशतभन्दा माथि छ । यसबाहेकका २२ बैंकको सीसीडी ७९ प्रतिशत कम छ । सबैभन्दा बढी लगानीयोग्य पूँजी स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, प्रभु र नेपाल बैंकको छ । यी बैंकको सीसीडी ६२ दशमलव ७५ प्रतिशतदेखि ७० प्रतिशतको बीचमा रहेको छ । केन्द्रीय बैंकले चालू आवमा सीसीडी ८० बाट बढाएर ८५ प्रतिशतसम्म पुर्‍याएको छ ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकको सीसीडी औसत ७४ प्रतिशतको हाराहारीमा थियो भने माघमा सीसीडी औसत ७५ प्रतिशत पुगेको छ ।

अहिले बजारमा करीब ८६ अर्ब रुपैयाँबराबरको अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ७१ अर्ब रुपैयाँ बराबरको तरलता राष्ट्र बैंकले खिचेर राखेको उनले बताए । ‘बजारमा ७७ अर्ब रुपैयाँ पुनर्कर्जाबापतको रकम दिइसकेको छ । यसैले बजारमा अहिले देखेको तरलता पुनर्कर्जा दिएकाले हो ।’

यो खबर आजको आर्थिक अभियानमा ममता थापाले लेखेका छन् ।

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - ०६:२०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology