काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरीदका लागि सोमवार ५ बजेसम्म ११ लाख ७७ हजार ९२० जनाको आवेदन परेको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यी आवेदकहरुबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन परेको हो । उक्त कम्पनीको आईपीओमा माघ ६ गते मंगलवारसम्म आवेदन दिन सकिनेछ ।
उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।
खरीदकर्ताहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।