काठमाडौ । बोनस सेयरका लागि दुई वाणिज्य बैंकको सेयरमूल्य शुक्रबार समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लक्ष्मी बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार अब प्रतिकित्ता लक्ष्मी बैंकको २६२ रुपैयाँ र मेगा बैंकको २५० रुपैयाँ कायम भएको छ । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता लक्ष्मी बैंकको २८६ रुपैयाँ र मेगा बैंकको २७५ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।
लक्ष्मी बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस, २.५ प्रतिशत नगद र मेगा बैंकले १० प्रतिशत बोनस सेयर, ३.५ प्रतिशत नगद दिने घोषणा गरेका छन् । प्रस्तावित बोनस सेयर र नगद लाभांश आउँदो वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरु हकदार हुनेछन् ।
यी कम्पनीले लाभांश र वार्षिक साधारणसभाका लागि आज पुस १७ गते बुक क्लोज गरेको छ । यसको हिजो पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन योग्य हुनेछन् । लक्ष्मी बैंकको साधारण सभा पुस २८ गते र मेगा बैंकको साधारण सभा पुस २९ गते हुनेछ ।