काठमाडौं । आठ ओटा वित्त कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
मञ्जुश्री फाइनान्स, सृजना फाइनान्स,आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
ती कम्पनीहरुमध्ये सृजना फाइनान्स र सेन्ट्रल फाइनान्स बाहेकका कम्पनीले लाभांश पारित गर्नका लागि साधारण सभा आयोजना गरेका छन् । हालसम्ममा लभांश प्रस्ताव गरेका वित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त कम्पनीले १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष बोनस शेयर बढाएको छ । कम्पनीले गत वर्ष १ दशमलव ७५ प्रतिशत बोनस शेयर र ९ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश पारित गर्न गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले पुस २८ गते साधारण सभा बोलाएको छ । उक्त कम्पनीको लाभांश पुस २० गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यसैगरी लाभांश पारित गर्न मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुडवील फाइनान्सले पुस २९ गते साधारण सभा बोलाएका छन् ।
यसबाहेक समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र युनाइटेड फाइनान्सले गत आवको वार्षिक प्रतिवेदन पारित गर्न साधारण सभा आयोजना गरेका छन् ।
ती तीनै ओटा कम्पनीले भने यस वर्ष कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । समृद्धि फाइनान्सले साधारण सभा पुस २७ गते, प्रोग्रेशिभ फाइनान्स र युनाइटेड फाइनान्सले पुस २९ गते साधारण सभा आयोजना गरेका छन् । आर्थिक अभियानबाट