Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयरबजारका समस्याप्रति अर्थमन्त्रीको चासोः ब्रोकर कमिशन तत्कालै घटाउन निर्देशन

शेयरबजारका समस्याप्रति अर्थमन्त्रीको चासोः ब्रोकर कमिशन तत्कालै घटाउन निर्देशन

दैनिकी न्यूज

५, पौष २०७७
शेयरबजारका समस्याप्रति अर्थमन्त्रीको चासोः ब्रोकर कमिशन तत्कालै घटाउन निर्देशन
images

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयरबजारप्रति विशेष चासो देखाएका छन् । मन्त्री पौडेलले शेयरबजारप्रति चासो देखाउँदै नियामक निकायका उच्च अधिकारीहरूलाई राखेर विद्यमान समस्याहरू पहिचान गरेर तत्कालै समाधान हुनेगरी अघि बढ्न निर्देशन दिएका हुन् । पूँजी बजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न नियामक निकायहरूले समयतालिका तयार बनाएर काम गर्न उनले जोड दिए ।

लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएको शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन तत्कालै घटाउने गरी काम गर्न मन्त्री पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिए ।

‘ब्रोकर कमिशन घटाउन विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्,’ अर्थ मन्त्रालयमा हालै आयोजित बैठकमा मन्त्री पौडेलले निर्देशन दिँदै भने । शेयर कारोबारमा ब्रोकरलाई तिर्नुपर्ने शुल्क बढी भएको भन्दै घटाउन लगानीकर्ताले माग गरिरहेका छन् । हाल शेयर कारोबारमा लगानीकर्ताले ब्रोकरलाई शून्य दशमलव ४ देखि शून्य दशमलव ६ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । यसअघि नै धितोपत्र बोर्डले ब्रोकरको शुल्क घटाउन गृहकार्य थालिसकेको छ । सोही क्रममा कमिशन केकति बनाउने भन्ने सम्बन्धमा एक अध्ययन पनि भइसकेको बोर्ड स्रोतले बतायो ।

गत भदौमै तयार भइसकेको अध्ययन प्रतिवेदनलाई थप सान्दर्भिक बनाउन अहिले पुनः अध्ययन शुरू भएको स्रोतको दाबी छ । ‘अहिले ब्रोकरको खास लागतबारे सूक्ष्म अध्ययन भइरहेको छ, त्यसैका आधारमा शुल्क निर्धारण गरिनेछ,’ बोर्डका एक उच्च अधिकारीले भने ।

ब्रोकर कमिशन शून्य दशमलव २५ प्रतिशत कायम गर्न धितोपत्र बोर्डले बनाएको एक आयोगले यसअघि प्रतिवेदन बुझाइसकेको थियो । कात्तिक १ गते बाट कमिशन घटाउने भनेर बोर्डका अधिकारीहरूले बताउँदै आए पनि अनेक बहानामा ढिलाइ भइरहेको छ । अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको सहभागी रहेको बैठकमा उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए ।

लगानीकर्ताहरूले अनलाइन प्रणालीमा आइरहने समस्या अझै पनि विद्यमान रहेको भन्दै यसको दीर्घकालीन समाधानको हुनुपर्ने बताउँदै आएका छन् । यस विषयमा समेत अर्थमन्त्रीले चासो देखाउँदै तत्कालै समस्या समाधान गर्न नियामक निकायलाई निर्देशन दिएका छन् ।

पछिल्लो समय मेरो शेयरमा आइरहेको गडबडीले लगानीकर्ता हैरानीमा परेका छन् । पूँजी बजारको विकासका लागि चालू वर्षको बजेटमा उल्लिखित कार्यहरू समयमा नै सम्पन्न गर्नसमेत मन्त्री पौडेलले निर्देशन दिएका थिए ।

यो खबर आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०५:५४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology