Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वाणिज्य बैंकको लाभांशमा भारी गिरावट, सेयर खरिदकर्तामा निराशा

वाणिज्य बैंकको लाभांशमा भारी गिरावट, सेयर खरिदकर्तामा निराशा

दैनिकी न्यूज

४, पौष २०७७
वाणिज्य बैंकको लाभांशमा भारी गिरावट, सेयर खरिदकर्तामा निराशा
images

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ ।

वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी पाइने आशा गरेका सेयर खरिदकर्तामा निराशा छाएको हो ।

आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गत वर्षभन्दा कम भएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआइसी एसिया र हिमालयनले सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश घोषणा गरेका छन् । यी बैंकले गत वर्ष क्रमशः २१ दशमलव ५ र २२ प्रतिशत लाभांश दिएका थिए ।

आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेकामध्ये सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंकमध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

बैंकहरूले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने र २१ दिनपूर्व नै वार्षिक साधारण सभासम्बन्धी जानकारी दिइसक्नुपर्ने प्रावधान रहेको छ । लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सिभिल बैंक रहेका छन् ।

गत वर्ष यी बैंकहरूले क्रमशः ३४, ३५, १६, १५ र १९ प्रतिशत लाभांश दिएका थिए । यस वर्ष यी बैंकहरूले पनि सोभन्दा कम लाभांश दिनेछन् । गत वर्ष एनएमबीले सबैभन्दा बढी लाभांश दिएको थियो ।

गत वर्ष १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमान्डुुले यस वर्ष ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।

यसैगरी गत वर्ष २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको ग्लोबल आईएमई बैंक आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६ प्रतिशत मात्र लाभांश दिन सकिने अवस्थामा पुुगेको छ । यो बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिने भएको छ ।

२० वटा बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट गत वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।

यसैगरी गत वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको कृषि विकास बैंक यसपालि १५ दशमलव ७९ प्रतिशतमा खुम्चिएको छ । यो बैंकले नगद शून्य दशमलव ७९ प्रतिशत र बोनस १५ प्रतिशत वितरण गर्ने घोषणा गरिसकेको छ । गत वर्ष २५ दशमलव २६ प्रतिशत लाभांश दिएको सिद्धार्थ बैंक पनि १५ प्रतिशतमा सीमित भएको छ । यो बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर लाभांशका रूपमा दिनेछ ।

गत वर्ष १० दशमलव ५६ प्रतिशत लाभांश दिएको कुमारी बैंक भने यस वर्ष चम्किएको छ । यसले आर्थिक वर्ष २०७६÷७७ को लाभांशबाट १४ प्रतिशत लाभांश दिने भएको छ । गत वर्ष २१ दशमलव शून्य पाँच दशमलव लाभांश दिन सफल सानिमा बैंक यस वर्ष १३ दशमलव ६ प्रतिशत मात्र लाभांश दिन सक्ने हैसियतमा पुुगेको छ ।

त्यस्तै, गत वर्ष २२ दशमलव ५० प्रतिशत लाभांश दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंक यस वर्ष त्यसको आधा मात्र लाभांश दिन सक्ने स्थितिमा पुगेको छ । गत वर्ष १५ प्रतिशत लाभांश दिएको लक्ष्मी बैंक यसपालि ११ दशमलव ५ प्रतिशतमा खुुम्चेको छ ।

गत वर्ष १५ प्रतिशत लाभांश बाँडेको सिटिजन्स बंैक इन्टरनेसनल यसपालि ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी ११ प्रतिशतमा सीमित भएको छ । गत वर्ष १ प्रतिशत पनि लाभांश नदिएको प्रभुले भने यसपालि १० दशमलव ५३ प्रतिशत लाभांश पुु(याएको छ ।

त्यस्तै गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम लाभांश दिनेमा एभरेस्ट बैंक परेको छ । गत वर्ष २५ प्रतिशत लाभांश दिने एभरेस्ट यसपालि १० दशमलव ५३ मा खुुम्चेको छ । यसैगरी माछापुुच्छ्रे« बंैकले पनि यसपालि १० दशमलव ४ प्रतिशत मात्र लभांश दिने भएको छ । यसले गत वर्ष १६ प्रतिशत लाभांश बाँडेको थियो ।

मेगा बैंकले भने गत वर्षको तुलनामा लाभांश बढाएको छ । गत वर्ष ११ दशमलव ७५ प्रतिशत लाभांश दिएको मेगाले यस वर्ष १३ प्रतिशत लाभांश दिनेछ । यसले १० प्रतिशत बोनस र बाँकी नगद लाभांश दिन लागेको हो । नेपाल बैंक पनि २५ प्रतिशत लाभांशबाट यस वर्ष १६ प्र्रतिशतमा झरेको छ । नेपाल एसबीआईले ९ दशमलव ४७, एनबीले ८ दशमलव ४२ र सनराइजले ८ दशमलव २८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

यो खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०५:२१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology