Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एक सातामै नेप्सेमा ३१ अर्बको कारोबार

एक सातामै नेप्सेमा ३१ अर्बको कारोबार

दैनिकी न्यूज

१२, मंसिर २०७७
एक सातामै नेप्सेमा ३१ अर्बको कारोबार
images

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो ।

यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको छ । यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार पुगेको छ ।

सेयर बजारले हालसम्मकै उच्च कारोबार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेप्से सूचकले झन्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै ‘अल टाइम हाई’ रेकर्ड तोडेको हो । बिहीबार बजार १ हजार ९ सय २६ दशमलव ९२ बिन्दुको नयाँ रेकर्ड बनाएर सामान्य हिसाबले फर्किएको थियो ।

यसअघि नेप्सेले २०७३ साउन १२ गते १ हजार ८ सय ८१ पुगेर त्यसअघि लगातार घट्दै १ हजार ९९ बिन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा रहँदै आएको छ ।

पछिल्लो समय कारोबार रकमले पनि नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको बजारमा खरिदबिक्री चाप पनि उच्च रहँदा लगानीकर्तामा थप उत्साह जगाएको छ । बैंकबाट सस्तोमा सहज रूपमा सेयर कर्जा उपलब्ध भइरहेका कारण सेयर बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ भने अर्कोतर्फ कोरोना भाइरसको असर सबै क्षेत्रमा परेकाले पनि लगानीका अधिकांश स्रोत सेयर बजारमा आकर्षित भएको जानकारको भनाइ छ ।

लगानीकर्ताको मनोविज्ञान सकारात्मक भएको कारण पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । यसैबीच बजारमा नाफा बुक गर्ने लगानीकर्ता पनि छन् । तर, नयाँ लगानीकर्ता पनि भित्रिएका कारण बजारमा सन्तुलन कायम भएको छ । पछिल्लो समय सरकार र अर्थमन्त्रीले पनि सेयर बजारलाई सकारात्मक रूपमा लिएका कारण लगानीकर्ताको मनोबल उच्च भएको सेयर लगानीकर्ताको भनाइ छ ।

सेयर बजारले चार वर्षको बियरिस सर्कल पार गरेको छ । त्यसपछिको सर्कल बुलिस हो । पछिल्लो समयमा प्रविधिको प्रयोगले पनि लगानीकर्तालाई कारोबार गर्न सहज भएको छ । यसले नयाँ लगानीकर्ता भिœयाउन टेवा पुगेको छ ।

साताभर बढेको नेप्से सूचक एक दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार ४ दशमलव ६९ अंकले नेप्से बढेर १ हजार ७ सय ८२ दशमलव ८१ को बिन्दुमा पुगेको थियो । सोमबार बजारमा सामान्य करेक्सन देखिएको थियो । त्यो दिन सूचक २ दशमलव ३८ अंकले घटेको थियो । मंगलबार २९ दशमलव ६८ अंकले बढेको बजार साताको चौथो दिन बुधबार सार्वाधिक ६४ दशमलव ७० अंकले बढेको हो । साताको अन्तिम दिन बिहीबारसमेत सूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २५ को बिन्दुमा आइपुगेको छ ।

यस साता कारोबारमा आएका होटेलबाहेक सबै उपसमूह बढेका छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ६ सय ६१ दशमलव ५१ अंकले बढेको हो । त्यस्तै, निर्जीवन बिमा ३ सय ५३ दशमलव २२ अंकले बढेको छ भने व्यापार समूह २ सय ५१ दशमलव १४ अंक, अन्य समूह १ सय ५६ दशमलव शून्य १ अंक, जीवन बिमा १ सय २२ दशमलव २४ अंक, लघुवित्त ९४ दशमलव ९ अंक, जलविद्युत् ५१ दशमलव १६ अंक, वित्त समूह १३ दशमलव ८८ अंक, म्युचुअल फन्ड शून्य दशमलव १६ अंक, बैंकिङ समूह ८५ दशमलव ६४ अंक र विकास बैंक ३१ दशमलव ८८ अंकले बढेको छ । यस साता एक मात्रै होटेल समूह घटेको छ । होटेल २ दशमलव ८९ अंकले घटेको हो ।

यस साता कारोबारमा आएका कम्पनीमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यसको २ अर्ब ७ करोड ९९ लाख बढीको कारोबार भएको हो । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १ अर्ब २९ करोड र नेपाल बैंकको १ अर्ब २० करोड बढीको कारोबार भएको हो । यस साता सिभिल लघुवित्त वित्तीय संस्थाको ११ लाख ४१ हजार १ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा २० दशमलव ११ अंकले बढेर ३ सय ६५ दशमलव १८ को बिन्दुमा आइपुगेको छ ।

यो खबर आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेका छन् । 

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०६:२०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology