काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा एकै दिन दुई नयाँ रेकर्ड बनेको छ । मंसिर ७ गते झण्डै ७ अर्बको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेमा साताको अन्तिम दिन आज (बिहिबार) साढे ७ अर्ब बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको हो । आज नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाको कारोबार भएको छ । त्यस्तै आज शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ । ३ वर्ष लगातार घटेको शेयर बजार आज बिहीबार सर्वाधिक उचाइमा पुगेको हो । बिहीबार नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो । आज नेप्से १८. ३२ अंकले बढेर एक हजार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ । यो दिन बैंकिङ समूह सर्वाधिक ३७.७६ अंकले बढेको छ । अन्य समूह १५.३६ अंक, जलविद्युत् समूह ६.८२ अंक, उत्पादन तथा प्रशोधनमा ०.०९ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकले बढेको छ । उता निर्जीवन बीमा समूह सर्वाधिक १६५.०१ अंकले गिरावट आएको छ । जीवन बीमा समूह १३४.३२ अंक, व्यापार समूहमा १३०.६६ अंक, होटेल्स् समूह ४३.६५ अंक, विकास बैंक समूह ८.३५ अंक, वित्त समूह ५.८७ अंक र लघुवित्त समूहमा १६.६५ अंकको गिरावट आएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड १३ लाख, नबिल बैंकको ३८ करोड ३४ लाख, शिवम सिमेन्ट्सको २८ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको २८ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको २५ करोड ५१ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ७४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ८७ लाख रुपैयाँ, कुमारी बैंकको १७ करोड ६३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १७ करोड १९ लाख रुपैयाँ भन्दा बढीको बराबरको कारोबार भएको छ।
आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ। यो दिन एनएमबी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास र आँखुखोला जलविद्युतका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आएको छ।
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) का सेयरधनीहरु धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। आज ङदी ग्रुप पावर र बोटलर्स नेपाल (तराई) को सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बढीले घटेको छ।