काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से २३ दशमलव ३२ अंकले बटेर १ हजार ७ सय ४१ दशमलव ८१ विन्दुमा पुगेकोे छ । यो दिन बजारमा १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भयो ।
आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् । सबै भन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।
यस दिन सबैभन्दा बढी नेपाल पुनर्विमा कम्पनीले ३३ करोड ६२ लाख बढीको कारोबार भयो । त्यस्तै नेपाल टेलिकमले ३० करोड ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २५ करोड ९४ लाख, शिवम सिमेन्टले २२ करोड ७९ लाख, एनआइसी एशियाले १८ करोड २२ लाख, प्रभू बैंकले १६ करोड ५९ लाख, शिखर इन्स्योरेन्सले १६ करोड २६ लाख, नेको इन्स्योरेन्सले ११ करोड ४२ लाख, नागरिक लगानीकोषले १० करोड २८ लाख बढीको कारोबार भएको छ ।
यो दिन बजारका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । गोर्खाज फाइनान्स, हिमालयन डिस्टीलरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, बोटलर्स नेपाल (तराई) लिमिटेडको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लागेको हो ।
यस दिन गुमाउने कम्पनीहरुमा जलविद्युत कम्पनीहरु नै अगाडि देखिए । घलेम्दी हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सबैको लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य ६ प्रतिशत हाराहारीमा घट्यो ।