काठमाडौं । २७ वटा वाणिज्य बैंक मध्ये ७ वटा वाणिज्य बैंकले गतवर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । अहिलेसम्म कुनै पनि वाणिज्य बैंकले साधारण सभा गरिसकेका छैनन् । ती बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश दिनेमा एनआईसी एशिया बैंक भएको छ । एनआईसी एशियाले बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिएको छ ।
लाभांश प्रस्ताव गर्ने अन्य वाणिज्य बैकहरुमा सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, बैक अफ काठमाण्डू र माच्छापुच्छ्रे बैक रहेका छन् ।
महामारीका कारण अधिकांश कम्पनीहरुको सञ्चालक समितिको बैठक बस्न सकेको छैन । अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण समेत प्रकाशित गर्न बाँकी हरेको छ । केन्द्रीय बैंकले कोभिड–१९ का नियमित क्रियाकलापमा परेको असरका कारण वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप गरेको छ ।
बाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको केही समय अघि बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरि, सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक ६ गते विहबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा मार्फत उक्त लभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले १४ प्रतिशत बोनास शेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको २ खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २ खर्ब ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । गत वर्ष बैंकले १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद गरी २५.५५ लाभांश वितरण गरेको थियो ।
बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माथि प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।