Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंक

यी हुन् लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंक

दैनिकी न्यूज

६, कार्तिक २०७७
यी हुन् लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंक
images

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास समाप्त भइसक्दा सूचीकृत २६ वाणिज्य बैंकमध्य ६ बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । हालसम्म बैंक अफ काठमाण्डू, सानिमा, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेशनल, एनआइसी एशिया बैंक र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् ।

कोरोना संक्रमणका बीच पनि सेवा प्रवाहलाई निरन्तरता दिएका वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गर्न भने यो वर्ष ढिलाइ गरेका छन् । अझै २० सूचीकृत वाणिज्य बैंकहरूले लाभांश घोषणा गर्न बाँकी छ ।

विगत वर्षहरूमा एकाध बैंकले साधारणसभासमेत सम्पन्न गरी शेयरधनीहरूलाई दशै खर्च दिँदै आएकोमा यो वर्ष त्यो सुविधा लगानीकर्ताहरूले पाएनन् ।

यो वर्ष माछापुच्छ्रे बैंकले कात्तिक ६ गते वार्षिक साधारण सभाको मिति तय गरेको भए पनि कोरोना संक्रमण बढेका कारण स्थगित गरेको छ । दशै खर्च दिने गरी साधारणसभा गर्न लागेको माछापुच्छ्रे बैंकले सभा स्थगित गरेपश्चात् आगामी साधारणसभाबाट अनुमोदन गराउने गरी २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने भएको छ ।

बैंकले प्रस्ताव गरेको ७ दशमलव ३० प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

यो वर्ष बैंकहरूले नगदभन्दा बोनश शेयरमा जोड दिएका छन् । कोरोना संक्रमको प्रभाव यो वर्ष बैंकहरूको लाभांशमा पनि देखिएको छ । पाँचवटै बैंकको लाभांश गत वर्षभन्दा कम रहेको छ । यो वर्ष पाँच बैंकमध्ये सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकको रहेको छ ।

यस बैंकले असोज ४ गते १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो । सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको एनआइसी एशिया बैंकको लाभांश पनि गत वर्षभन्दा कम छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद दिएको यो बैंकको यस वर्ष न्यून प्रतिशतले लाभांशमा कमी आएको हो ।

एनआइसी एशिया बैंकले यो वर्ष बोनस शेयरमा जोड दिँदै लाभांश प्रस्ताव गरेको छ । कुल २० प्रतिशत लाभांशमा १९ प्रतिशत बोनस शेयर बैंकले प्रस्ताव गरेको हो ।

गत वर्ष ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमाण्डूले वर्ष १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंक अफ काठमाण्डूले पनि बोनस शेयरमै जोड दिएको छ ।

सानिमा बैंकको लाभांशमा पनि यो वर्ष कमी आएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश दिएको सानिमा बैंकले यो वर्ष भने कुल १३ दशमलव ६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सानिमाले गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ३ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स इन्टरनेशनलको पनि यो वर्ष लाभांश घटेको छ । गत वर्ष सिटिजन्सले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै कुमारी बैंकले यो वर्ष बोनस शेयरमा जोड दिँदै लाभांश प्रस्ताव गरेको छ । कुल १४ प्रतिशत लाभांशमा १० प्रतिशत बोनस शेयर बैंकले प्रस्ताव गरेको हो ।


हालसम्म सार्वजनिक वाणिज्य बैंकको लाभांशप्रति लगानीकर्ताहरू आकर्षित भएका छन् । लगानीकर्ताहरूले आफ्नो अपेक्षाभन्दा बढी लाभांश प्रस्ताव भएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ०६:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology