काठामाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बुधबार १६०० अंकमाथि पुगेको नेप्से आज ११.३४ अंकले घटेर १५सय ८९.६४ अंकमा बन्द भएको छ । नेप्सेमा करेक्सन हुँदा पनि कारोबार रकम भने करिब ३ अर्ब पुगेको छ । आज नेप्सेमा १९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड ५० लाख ५८ हजारको सेयर कारोबार भएको छ । केही दिनेयता लगातार बढेको हाइड्रोपावर समूहको सूचक आज सबैभन्दा बढी घटेको छ । हाइड्रोपावर समुहको सूचक आज सर्वाधिक ३.०८ प्रतिशले घटेको छ । हाइड्रोपावरसँगै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.६८ प्रतिशतले घट्दा नेप्से घटेको हो । नेप्से दोहोरो अंकले घट्दा पनि वित्त कम्पनी समूहको सूचक भने ३.९१ प्रतिशतले बढेको छ । वित्त कम्पनीसँगै लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक बिहीबार घटेको छ । नेप्सेसँगै हाइड्रोपावर समूहको सूचकमा करेक्सन देखिए पनि हाइड्रोको सेयर किन्ने लगानीकर्ता भने झम्मिएकै देखिन्छ । आज सवार्धिक कारोबार हुने शीर्ष ५ कम्पनीमा कुमारी बैंकबाहेक ४ वटा हाइड्रोपावर रहेका छन् ।