काठमाडौं । सोमबार शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.६७ अंकले घटेर १ हजार ५८२.०८ मा विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सेन्सेटिभ परिसूचक भने बढेको छ । सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेर ३१२.४६ मा पुगेको छ ।
कुल १९३ वटा कम्पनीको ९५ लाख २ हजार ६ सय ४८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ५७ करोड ३७ लाख ४४ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १४ करोड ९० लाख ११ हजार ७ सय ६३ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
नेप्से परिसूचक घटे पनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लागेको छ । यस दिन कामना सेवा विकास बैंक र रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य ९.२४ प्रतिशत बढेको छ।
आइतबार सकारात्मक सर्किट लागेको प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१९ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य गिरावट दरभने ४ प्रतिशतभन्दा कम रहेको छ।