Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तयार रहनुहोस्, १५ कम्पनीको आईपीओ आउँदै

तयार रहनुहोस्, १५ कम्पनीको आईपीओ आउँदै

दैनिकी न्यूज

१९, आश्विन २०७७
तयार रहनुहोस्, १५ कम्पनीको आईपीओ आउँदै
images

काठमाडौँ । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

एउटा कम्पनी (सानिमा जनरल इन्स्योरेन्स) ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार (असोज २१) देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० लाख कित्ता ९३० करोड रुपैयाँ बराबरको० सेयर निष्कासन गर्न लागेको छ ।

बाँकी १४ कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १४ कम्पनीले ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ७३ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङ समूहका कम्पनी हुन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत् (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर सेयर निष्कासन गर्ने उल्लिखित तीन कम्पनीमध्ये आआफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । यसअघि ती क्षेत्रका कम्पनीले सेयर निष्कासन गरेका छैनन् ।

पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३४ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । दोस्रो बजारमा जलविद्युत् समूहका कम्पनी थपिए पनि तिनको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन । यही कारण लामो समय डेढ दर्जनभन्दा बढी जलविद्युत् कम्पनीको सेयर अंकित मूल्य १ सयभन्दा कम थियो । केही सातायता सेयर बजार निरन्तर बढ्न थालेपछि ती कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिसेयर एक सय रुपैयाँ) भन्दा माथि पुगेको छ । यद्यपि अझै पनि लगानीकर्ताले ढुक्क भएर जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने अवस्था नभएको जानकारहरू बताउँछन् ।

आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - ११:०६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology