काठमाडौं । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य औसतमा १३ दशमलव ४३ प्रतिशतले बढेको छ ।
साउन मसान्तको तुलनामा भदौ १८ गतेसम्ममा सबै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य बढेको छ । भदौ १८ गते जलविद्युत् कम्पनीहरूको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण उच्च देखियो । यस दिन कारोबारमा आएका १२ समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव २६ प्रतिशतले बढेको थियो । जलविद्युत् कम्पनीको शेयरको मूल्य निकै तल आएकाले सस्तो शेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् । बैंकको ब्याजदर घटेपछि त्यसको असर शेयरबजारमा देखिन थालेको छ ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष एवम् ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले जलविद्युत्को प्रतिफल बैंकको ब्याजदरसँग अन्तरसम्बद्ध हुने भएकाले ब्याजदर घटेसँगै प्रतिफल बढ्ने अपेक्षामा लगानीकर्ता आकर्षित भएको बताए । बैंकसँग कर्जा लिएर आयोजना निर्माण गरेको जलविद्युत् कम्पनीहरूको ब्याजदर कम भएसँगै ब्याज खर्च कम हुने र विद्युत् उत्पादन आम्दानी निश्चित हुने हँुदा नाफा बढ्ने रेग्मीको भनाइ छ । यो कुरा विद्युत् विक्री शुरू गरिसकेका कम्पनीहरूको हकमा लागू हुने जानकारी दिँदै रेग्मीले पछिल्लो समय जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुको एक मात्र कारण कम ब्याजदर रहेको स्पष्ट पारे ।
दोस्रो बजारमा कम मूल्य भएका जलविद्युत् कम्पनीहरूले यो वर्ष अन्य क्षेत्रका कम्पनीहरूको तुलनामा बढी लाभांश दिने अपेक्षा लगानीकर्ताहरूको देखिन्छ । लगानीकर्ता केशव कोइरालाले जलविद्युत् कम्पनीहरूको अहिलेको मूल्यमा गुमाउन केही बाँकी नभएको तर कमाउने सम्भावना शतप्रतिशत रहेको बताउँछन् । महँगो ब्याजदरमा थलिएका जलविद्युत् कम्पनीहरू ब्याजदर तल झरेसँगै नाफा राम्रो गर्न थालेको कोइरालाको भनाइ छ ।
आर्थिक अभियानमा खबर छ ।
