Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

करिब पौने आठ लाखले गरे कोरोना बिमा

करिब पौने आठ लाखले गरे कोरोना बिमा

दैनिकी न्यूज

१०, भाद्र २०७७
करिब पौने आठ लाखले गरे कोरोना बिमा
images

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ ।

बिमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बिमा गरेका छन् । परिवारको एउटा मात्र बिमा पोलिसी हुने कारणले गर्दा भने हालसम्ममा ८४ हजारओटा पोलिसी जारी भएको छ । कोरोना बिमाबाट मात्र ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।

कोरोना बिमा गर्न एक्लैको एक लाख रुपैयाँको बिमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ । ५० हजारको एक्लैको गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बिमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बिमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्नुपर्ने हुन्छ ।

बिमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ ।

बिमा समितिका अनुसार अहिलेसम्ममा १ लाख रुपैयाँको बिमा गर्नेमध्ये ७१ जनाले भुक्तानी पाइसकेका छन् भने ३ सयवटा भुक्तानीको प्रक्रियामा रहेको छ । ५० हजार रुपैयाँको बिमा गर्नेमध्ये नौवटाको भुक्तानी भइसकेको छ भने २६ वटा प्रक्रियामा रहेको छ ।

राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०६:३५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology