काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भोली (भदौ ३ गते) देखि सो शेयर निष्काशन गर्ने भएको छ। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।