काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६ प्रतिशतको गिरावटसँगै तेस्रो नेगेटिभ सर्किट लागेपछि आज बिहीबारको सेयर बजार साढे २ घन्टाअगावै बन्द भएको छ ।
सोमबार नकारात्मक सर्किटपछि मंगलबार र बुधबार लगातार दुई दिन उछाल आएको शेयर बजारमा तेस्रो दिन बिहीबार भारी गिरावट आएको हो ।
भारी पहिरोसँगै नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो । यो गिरावटसँगै नेप्से परिसूचक ८० दशमलव ४१ अंकको गिरावटका साथ १ हजार २५६.११ को विन्दुमा आएर आजको कारोबार स्थगित भएको हो ।
कारोबार बन्द भएसँगै आज नेप्सेमा सूचीकृतमध्ये १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर किनबेच भई ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ । यस कम्पनीको प्र्रतिकित्ता ३८३ रुपैयाँ मा ६ करोड ६ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज म्युचुअल फन्डबाहेक सबै उपसमूहमा रातो पोतिएको छ ।

यस दिन सबैभन्दा बढी कमाउने स्वाभिमान लघुवित्तका शेयरधनीहरु रहेका छन्, जसको शेयर मूल्इ ८.०७ प्रतिशतले बढेको छ । त्यस्तै गोर्खाज फाइनान्सको ३.८१ प्रतिशत, गुडविल फाइनान्सको ३.३८ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटलका शेयरधनीहरु रहेका छन् । सोल्टी होटलको शेयरमूल्य १० प्रतिशत घटेको हो । यस दिन सोल्टी सहित प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ग्लोबल आईएमई बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
