Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कोभिड बीमाप्रति आकर्षण घट्यो

कोभिड बीमाप्रति आकर्षण घट्यो

दैनिकी न्यूज

१४, आषाढ २०७७
कोभिड बीमाप्रति आकर्षण घट्यो
images

काठमाडौं । वैशाख पहिलो सातादेखि शुरू गरिएको कोभिड–१९ बीमालेख (कोरोना बीमा) प्रति पछिल्लो समय आम मानिसको आकर्षण कम देखिएको छ । कोरोना सेवा शुरू हुँदा आम मानिसको आकर्षण बढी देखिए पनि पछिल्लो समय सोचेअनुरूप बीमालेख विक्री हुन नसकेको बीमा कम्पनीहरूले बताएका छन् ।

नेपाल बीमक संघका महासचिव चंकी क्षत्रीले पछिल्लो समय कोभिड बीमालेख घटेको बताए । ‘बीमा गर्ने व्यक्तिको संख्या बढेको छ । तर, वृद्धिदर भने खुम्चिँदै गएको छ,’ उनले भने, ‘पहिले दैनिक रूपमा जुन संख्यामा मानिसले बीमा गर्थे, अहिले त्यो मात्रामा हुने गरेको छैन ।’

बीमक संघका अनुसार शुरूका महीनामा दैनिक १८ हजारभन्दा बढी मानिसले यो बीमालेख किन्ने गरेकोमा अहिले यो दैनिक ५ हजारभन्दा कममा सीमित भएको छ । संघको तथ्यांकअनुसार पछिल्लोपटक गत बिहीवार ३ हजार १५१ र शुक्रवार २ हजार ८४७ जनाले कोरोना बीमा गरेका छन् ।

बीमक संघको शुक्रवारसम्मको तथ्यांकअनुसार नेपालमा ५ लाख १४ हजार १५६ जनाले कोरोना बीमा गरिसकेका छन् । संस्थागत, पारिवारिक र व्यक्तिगत गरी कुल ४८ हजार ७७७ बीमालेखमार्फत यतिका मानिसले यो बीमा गरेका हुन् । त्यसबापत रू। २८ करोड ६४ लाख बीमाशुल्क संकलन भएको छ ।

कोरोना बीमालेख विक्री गर्नेमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । शिखरले शुक्रवारसम्म रू. ५ करोड २७ लाख बराबरको बीमाशुल्क संकलन गरेको छ भने दोस्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्सले रू २ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ ।

यद्यपि, पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमामार्पmत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिने बताइएको छ ।

संघका अनुसार हालसम्म पाँचओटा दाबी पनि आइसकेको छ । दाबी परेपछि सम्बद्ध बीमितलाई भुक्तानी पनि गरिसकेको बीमक संघको भनाइ छ ।

समितिले लघुबीमाअन्तर्गत रहेर गत वैशाख ४ गते उक्त बीमालेखको खाका सार्वजनिक गरेको थियो । त्यसपछि लघुबीमा पुलमार्फत यसको कारोबार गर्दै गएको छ । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

यद्यपि, बीमा कम्पनीहरूको चुक्ता पूँजीभन्दा दायित्व बढी भएपछि बीचमा यो बीमाको व्यवसाय स्थगित पनि गरिएको थियो । तर, पछि दायित्वसम्बन्धी मापदण्ड परिवर्तन र दाबी भुक्तानीमा सरकारले पनि सहयोग गर्ने भएपछि यो सेवा पुनः सुचारु गरिएको थियो ।

बीमालेखअनुसार आम मानिसले रू. १ लाख र रू। ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू. १ लाख बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू। ५०० बीमा शुल्क लाग्नेछ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि, त्यसमा दाबी १५ दिनको प्रतीक्षा अवधि भने लागू हुनेछ ।

आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - ०७:१०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology