काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नको लागि असार ७ गते सेबोनबाट अनुमति पाएका हुन् ।
अनुमति पाएसँगै अजोड इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो । ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।
त्यसैगरी साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ ।