ललितपुर । विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ललितपुरमा ५ जना संक्रमित भएका छन् ती मध्ये १ जनाको मृत्यु भएको छ ।
गत जेठ ६ गते इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत २६ वर्षीय चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ गर्न कपिलवस्तु र रुपन्देही गएका बेला उनलाई कोरोना सरेको देखियो । उनले ललितपुरको ठेगाना राखेर स्वाब परीक्षण गराएका थिए । तर, बास्तविक ठेगाना हालसम्म पनि गोप्य छ । ती चिकित्सक वास्तविक रुपमा ललितपुर बस्ने नखुलेपछि कोरोना संक्रमित ललितपुरको लिष्टमा नराखिने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।
जेठ १४ गते ललितपुर महानगरपालिका २२ बुंगमतीमा कोरोना संक्रमण देखिएका ५७ वर्षीय पुरुषको निधन भयो । जेठ ११ गते किष्ट मेडिकल कलेज अस्पतालको आईसीयु हुँदै भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भयो । मृत्युपछि मात्र उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो ।
जेठ १७ गते ललितपुर महानगरपालिका २७ सुनाकोठी, नख्खुखोला बस्दै आएकी २३ वर्षिय सुत्केरी महिलामा कोराना देखियो । सुनसरी जिल्ला धरानकी ती महिलामा कहाँबाट कोरोना सरेको केही खुलेको छैन । उनी किस्ट अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन । कोरोना देखिएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा उपचार गरियो, हाल निको भएर घर फर्किसकेकी छिन् ।
असार १ गते ललितपुर महानगरपालिका २८ हरिसिद्धि स्थायी घर भएका ४० वर्षिय महिलामा कोरोना देखियो। जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी उनी स्टाफ कलेज जावालाखेलको क्वारेन्टिनमा बसेकी थिइन । अहिले उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
असार ४ गते मात्र ललितपुरकै ५० वर्षको पुरुषका कोरोना देखियो । चितवन रत्ननगर स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्ने ती पुरुष पनि पाटनमै उपचाररत छन् ।
लुकिछिपी आउनेले बढाए जोखिम
संक्रमित जिल्लाबाट लुकिछिपी काठमाडौँ प्रवेश गर्ने संख्या बढेकै कारण उपत्यकामा संक्रमण बढ्न थालेको विज्ञहरुको भनाई छ ।
काठमाडौंमा शुक्रबार ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार काठमाडौँमा फेलापरेका सङ्क्रमितहरुमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन । उनीहरू केही दिनअघि काठमाडौँ आएका थिए । त्यस्तै ललितपुरका ५० वर्षीय पुरुष पनि केही दिनअघि मात्र चितवनको रत्ननगरबाट आएको सूचना पाएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टिनको व्यवस्था स्थानीय तहले गर्नुपर्ने बताउँछन् । ललितपुरमा कान्तिलोकपथ, महाँकाल गाउँपालिका र लाकुरीभज्याङ्बाट लुकीछिपी रातीराती मानिस भित्रिने गरेको सूचना आफूले पनि पाएको उनले बताए । दुई नम्बर प्रदेशका मानिसहरु कान्तिलोकपथ हुँदै, मकवानपुरको फापरबारीका महांकाल गाउँपालिका हुँदै उपत्यका प्रवेश गर्ने गरेका छन् । जोखिम बढाउन सक्ने अवस्था देखिएपनि सरकारले लकडाउन खुकुलो पारेकोले अहिले रोक्न नसकिने प्रजिअ भट्टले बताए ।
ललितपुरमा शुक्रबारसम्म १९ सय ४४ जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. गेलालले बताए ।