काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असार ४ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले जारी गरेको लकडाउनको अवधि (जेठ ३२) सम्म बन्द हुने सूचना निकालेको नेप्सेले आइतवार पुनः अर्को सूचनामार्फत असार ४ गतेसम्म बढाएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अवधिभर बजार खुला नगर्न निर्देशन दिएकाले नेप्सेले सोही बमोजिम निर्णय गर्दै आएको छ । खुकुलो भए पनि हाल लकडाउन कायमै रहेको अवस्थामा असार ४ गतेसम्मको मात्र अवधि तोकिएकाले लकडाउनकै बीच बजार खोल्ने तयारीमा नेप्से रहेको देखिन्छ ।
नेप्सेको सूचना अनुसार यो साताभर कारोबार हुनेछैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आगामी सातादेखि बजार खुल्ने सम्भावना रहेको बताए । बोर्डको निर्देशन प्राप्त भए बजार खुलाउन नेप्से तयार रहेको उनको भनाइ छ ।
आइतवार लगानीकर्ता संघका प्रतिनिधिसहित बोर्डमा बसेको छलफल निष्कर्षविना नै टुंगिएको छ । लगानीकर्ताले बजारका लागि केही राहतको प्याकेज ल्याएर मात्र खोल्न आग्रह गरेका थिए । शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बजारका लागि पूरा हुनुपर्ने आधार तय गरेर मात्र खोल्न सुझाइएको बताए । यस विषयमा बोर्ड पनि सकारात्मक रहेको र अब बजार खुल्दा पहिलाको जस्तो समस्या नहुने विश्वास उनको छ ।
गत चैत १० देखि प्रभावित नेपालको धितोपत्र बजार अब खुलाउनुपर्ने माग सबै पक्षको छ । ब्रोकरहरूले पनि आर्थिक व्यवस्थापनमा समस्या हुन लागेको भन्दै खोल्नुपर्ने माग गरेका छन् । आर्थिक अभियानमा खबर छ ।