काठमाडौं । नेपालमा सक्रिय मौसमी प्रणाली क्रमशः कमजोर हुँदै जाने भएको छ। हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिन अझै वर्षा हुने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बदली र वर्षाको अवस्था रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।
तर, हाल सक्रिय मौसमी प्रणाली आइतबारदेखि क्रमशः कमजोर हुँदै जाने मौसमविद्हरूले बताएका छन्। प्रणाली कमजोर भएसँगै देशका अधिकांश स्थानमा वर्षाको मात्रा घट्दै जाने र मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।
लगातारको वर्षाका कारण पहिरो तथा भूक्षयको जोखिम अझै कायम रहेको छ। नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले बाढीको जोखिम पनि कायमै रहेको महाशाखाले जनाएको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। त्यस्तै, पहाडी तथा ग्रामीण सडकमा यात्रा गर्दा मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म रातको समयमा यात्रा नगर्न पनि आग्रह गरिएको छ।