ललितपुर । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्तिलोकपथ बिहीबार बेलुका ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले कान्तिलोकपथमा आवागमन रोक्ने निर्णय गरेको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरहरि घिमिरेका अनुसार असोज ९ देखि ११ गतेसम्म हुनसक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने विपद्को जोखिमलाई ध्यानमा राखेर सडक बन्द गर्न लागिएको हो।
निर्णयअनुसार बिहीबार बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र टीकाभैरबाट मकवानपुरतर्फ सवारीसाधन सञ्चालन गर्न दिइनेछ। मकवानपुरबाट ललितपुर प्रवेश गर्ने बागमती गाउँपालिका–२ स्थित बगुवा नाकाबाट पनि सोही अवधिमा मात्र सवारीसाधन प्रवेश गर्न पाउनेछन्।
प्रशासनले भारी वर्षाको समयमा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न र सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ।
ललितपुरमा २७ वटा जोखिमयुक्त स्थान पहिचान गरिएको छ। ती क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहले माइकिङलगायतका माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने निर्णय बैठकले गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक गरेको छ। सोही जोखिमलाई ध्यानमा राखेर जिल्लामा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको प्रशासनले जनाएको छ।
बैठकमा ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सम्भावित विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि सुरक्षा निकायलाई सक्रिय अवस्थामा राख्नुपर्ने बताए। नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना पुर्याउन र सुरक्षा निकायबीच समन्वय बढाउन उनले आग्रह गरे।
ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले विगतका बाढीपहिरोबाट पाठ सिकेर आवश्यक तयारी गर्नुपर्ने बताइन्। दक्षिण ललितपुरमा विपद्का बेला सञ्चार सम्पर्क विच्छेद हुनसक्ने भन्दै सुरक्षा निकाय र अस्पताललाई समेत उच्च सतर्क अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो।
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्र सुरक्षित स्थान पहिचान गरी नागरिकलाई जानकारी गराइएको बताए। विद्युत् अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले पनि आवश्यक तयारी गर्नुपर्ने उनले बताए।
बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी मगरले कान्तिलोकपथको संरचना कमजोर रहेकाले जोखिमका बेला निश्चित अवधिका लागि सडक बन्द गर्ने निर्णय उपयुक्त भएको बताए। सञ्चार सम्पर्क विच्छेद हुनसक्ने भएकाले आवश्यक स्थानमा जेनेरेटरको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता शिव कट्टेलले विपद्का बेला मिथ्या सूचना फैलिन सक्ने भन्दै आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरे।
निर्माण व्यवसायी संघ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगिरथ तिमिल्सिनाले विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा हुने ढिलासुस्ती हटाउनुपर्ने बताए।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।