Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

रसुवा बाढीपीडितका लागि हङकङबाट आकाश बञ्जाराको ५ लाख ११ हजार सहयोग

रसुवा बाढीपीडितका लागि हङकङबाट आकाश बञ्जाराको ५ लाख ११ हजार सहयोग

दैनिकी न्यूज

१२, भाद्र २०८३
रसुवा बाढीपीडितका लागि हङकङबाट आकाश बञ्जाराको ५ लाख ११ हजार सहयोग
images

काठमाडौं । मातृभूमिमा विपद् पर्दा विदेशमा रहेर पनि पीडितको दुःखमा साथ दिनुपर्छ भन्ने भावनासहित गैरआवासीय नेपाली अभियन्ता, व्यवसायी तथा समाजसेवी आकाश बञ्जाराले रसुवा बाढीपीडितका लागि ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

गोरखामा स्थायी घर भएका बञ्जारा लामो समयदेखि हङकङमा व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन्। योग तथा साउण्ड हिलिङका साथै नेपाली हस्तकलामार्फत विश्वभर नेपालको पहिचान प्रवर्द्धन गर्दै आएका उनले रसुवामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका हुन्।

बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बाढीपीडितका लागि ४ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको बाढी राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्। दुवै सहयोग गरी रसुवा बाढीपीडितका लागि उनको कुल सहयोग ५ लाख ११ हजार १११ रुपैयाँ पुगेको छ।

बञ्जारा ग्लोबल गोर्खा समाजका उपाध्यक्ष तथा फिने हङकङका संस्थापक अध्यक्ष हुन्। उनी हिमालयज क्राफ्ट हङकङ तथा नेपाल र गोर्खाज फाइनान्स हङकङका निर्देशकसमेत हुन्। गैरआवासीय नेपाली अभियानमा सक्रिय बञ्जाराले व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर योगदान गर्दै आएका छन्।

रसुवामा आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै स्थानीयवासी विस्थापित र प्रभावित भएका छन्। तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि समेत ठूलो सहयोग आवश्यक रहेको भन्दै बञ्जाराले आफ्नोतर्फबाट सहयोग गरेका हुन्।

बञ्जाराले आफूले गरेको सहयोगलाई प्रारम्भिक राहतका रूपमा लिएका छन्। बाढी तथा पहिरोबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भएपछि पीडितको आवश्यकता र अवस्थाअनुसार थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

‘म जहाँ भए पनि देशलाई समस्या परेको बेला र देश रोएको बेला चुप लागेर बस्न सक्दिनँ,’ बञ्जाराले भने, ‘विपद्को समयमा पीडित परिवारलाई साथ दिनु मानवीय दायित्व हो। विदेशमा रहे पनि आफ्नो देश र नागरिकका लागि आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले यो सहयोग गरेको हुँ।’

उनले रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि व्यक्ति, व्यवसायी, संघसंस्था तथा गैरआवासीय नेपाली समुदायलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

विदेशमा रहेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता तथा गैरआवासीय नेपाली संघसंस्थाले मातृभूमिमा आइपरेको विपद्मा सहयोग गर्ने क्रम बढिरहेको छ। विभिन्न देशमा रहेका नेपालीले व्यक्तिगत तथा संस्थागत रूपमा रसुवा बाढीपीडितका लागि सहयोग गरिरहेका बेला बञ्जाराको सहयोग पनि मानवीय अभियानको महत्वपूर्ण हिस्सा बनेको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १५:३४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology