नेपाली समाजमा एउटा चर्चित उखान छ— ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।’ यो उखानले दशैंसँग जोडिएका दुुईवटा पाटो प्रष्टसँग देखाउँछ– एकातिर उल्लास, खुसी, पर्वको चहलपहल र अर्कोतिर आर्थिक बोझ, ऋण र बाध्यता ।
यस वर्ष पनि फूलपाती, अष्टमी, नवमी हुँदै विजयादशमी नजिकिंदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं मनाउन आवश्यक सरसामान किनमेल गर्नेहरूको भीड बजारका गल्ली–गल्लीमा खचाखच भरिएको छ । छिमेकी मुलुक चीन र भारतबाट भित्रिने खसी, बोका, च्याङ्ग्रा, कुखुरा, हाँस र रागोको भाउ आकाशिएको छ । तर यो आकाशिएको भाउसँगै सर्वसाधारण जनताका आर्थिक हैसियत भने उस्तै कमजोर छ ।
देश र विदेशमा श्रम गरेर फर्किएका युवा–युवतीहरू दशैंको मौकामा घर फर्कंदैछन् । गाउँघर र सहर दुवैतिर उत्सवको रौनक छाएको छ । तर सबै घरमा रमाइलो र सहजता मात्रै छैन । कतिपय परिवारहरू विगतको दशैंमा लिएको ऋण अझै तिर्न नसकी यस वर्षको खर्च जुटाउन घरजग्गा बेच्न वा साहुँसँग ऋण काढ्न बाध्य छन् । पर्वको नाममा भोग्नुपर्ने यस्तो विडम्बना हाम्रो यथार्थ हो ।
यद्यपि, दशैं हाम्रो संस्कृति, परम्परा र आस्थासँग गाँसिएको पर्व हो । यसलाई तडकभडक र देखावटी खर्चमा सीमित गर्नुभन्दा यसको वास्तविक मर्म बुझ्नु आवश्यक छ । नवदुर्गाको आराधना, टिका–जमरा ग्रहण, आपसी भेटघाट र आशीर्वाद बाँड्ने चलन यस पर्वको मुख्य आकर्षण हो । यसरी दशैंलाई संस्कृतिको आधारमा मनाउँदा मात्रै यसको मौलिकता जोगिन्छ र हामीलाई साँचो अर्थमा एकता, श्रद्धा र आत्मीयताको अनुभव दिलाउँछ ।
आजभोलि दशैंको अवसरमा शुभकामना आदान–प्रदान गर्ने परम्परा झन् बढ्दो छ । सामाजिक सञ्जालदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनसम्म ‘विजया दशमीको शुभकामना’ को बाढी आइरहेको देखिन्छ । तर केवल शुभकामना आदान–प्रदानमै दशैंको अर्थ सीमित हुँदैन । शुभकामनासँगै यस पर्वले दिने सन्देशलाई आत्मसात गर्नु नै नागरिकको कर्तव्य हुन्छ । दशैंले असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको जीत र विभाजनमाथि एकताको मूल्य सिकाउँछ । यसले परिवारबीच प्रेम र आत्मीयता बढाउने, समाजलाई मिलन र सहिष्णुतामा जोड्ने र मानवीय जीवनलाई धर्म, संस्कार र विवेकसँग गाँस्ने शिक्षा दिन्छ । त्यसैले, दशैंलाई केवल रङ, रमाइलो र खर्चको पर्व नभई मूल्य, मान्यता र जीवनपथको मार्गदर्शन गर्ने उत्सवका रूपमा आत्मसात गर्नु अपरिहार्य हुन्छ ।
बडादसैं नेपालीहरूका लागि एउटा चाड मात्र होइन, राष्ट्रिय एकता, आस्था र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको पर्व हो । हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडका रूपमा मानिने यसलाई नवरात्र र विजया दशमी नामले पनि चिनिन्छ ।
धार्मिक र पौराणिक आधार
दशैंको शुरुवात घटस्थापनाबाट हुन्छ । यस दिन घर–घरमा जमरा राखिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी देवी दुर्गाका नौ रूपको एक–एक दिन पूजा गरिन्छ । दशौँ दिन अर्थात् विजयादशमीमा देवी दुर्गाले असुरराज महिषासुरलाई वध गरेर धर्मको स्थापना गरेको स्मरण गरिन्छ । त्यस्तै, भगवान् रामचन्द्रले यसै दिन लङ्का नरेश रावणमाथि विजय हासिल गरेको कथन पनि रहेको छ । यी दुवै प्रसङ्गले दशैंलाई दैवी शक्तिको जयन्ती र सत्यको उत्सवका रूपमा स्थापित गरेका छन् ।
सांस्कृतिक महत्व
दशैंको सांस्कृतिक पक्षले नेपाली समाजलाई अझ नजिक ल्याउँछ । मान्यजनको हातबाट रातो टिका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन रहेको छ । टाढा रहेका परिवारजन, आफन्त र साथीभाइ दशैंको अवसरमा घर फर्किन्छन्, भेटघाट हुन्छ र स्नेह आदान–प्रदान हुन्छ । यसरी दशैं पूजापाठमा मात्र सीमित नभई सम्बन्ध मजबुत पार्ने एउटा संस्कार पनि हो । त्यस्तै, दशैंमा बजाइने मालश्री धुन, गाउँघरमा रमाइलो गरी खेलिने पिङ, दक्षिणा दिने–लिने परम्परा, नयाँ लुगा लगाउने चलन, सबैले मिलेर खाने–पिउने खुसीयाली – यी सबैले यस पर्वलाई जीवन्त बनाएका छन् ।
सामाजिक आयाम
दशैंलाई सामाजिक दृष्टिले हेर्दा यो मेलमिलाप र सहिष्णुताको पर्व हो । आपसी गुनासो बिर्सिएर एकआपसमा आशीर्वाद बाँड्ने, सानो–ठूलो, धनी–गरिब, जात–जातबीचको भिन्नतालाई पन्छाएर एउटै परिवारका सदस्यझैं एउटै थालमा बस्ने परम्पराले दशैंलाई राष्ट्रिय ऐक्यबद्धताको महोत्सव बनाएको छ ।
वैज्ञानिक दृष्टिकोण
दशैंको प्रत्येक परम्परामा वैज्ञानिक आधार पनि पाइन्छ । घटस्थापनामा राखिने जमरा केवल धार्मिक प्रतीक नभई स्वास्थ्यका लागि लाभदायी औषधीय गुण बोकेको हुन्छ । निधारमा लगाइने टीका, चन्दन वा अभिषेकले शरीरलाई शान्ति, मस्तिष्कलाई सन्तुलन र आत्मालाई शुद्ध राख्ने वैज्ञानिक मूल्य बोकेको छ । यसरी हरेक संस्कार जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित देखिन्छ ।
दशैंको वैज्ञानिक र सांस्कृतिक आयाम
दशैं केवल धार्मिक उत्सव मात्र होइन, यसमा निहित हरेक संस्कार, विधि र परम्पराले वैज्ञानिक महत्व बोकेको छ । नवदुर्गाको पूजा आराधनाभित्र दैवी शक्तिप्रतिको आस्था मात्र छैन, जीवनलाई व्यवस्थित र स्वास्थ्यलाई सुदृढ बनाउन सक्ने वैज्ञानिक चेतना पनि अन्तर्निहित छ ।
जमराको वैज्ञानिकता
जमरा राख्ने संस्कारलाई हामीले दीर्घायु र समृद्धिको प्रतीकका रूपमा बुझ्छौं । तर यसको वैज्ञानिक महत्व अझ गहिरो छ । जौ र गहुँको अङ्कुरणबाट बनेको जमरामा असाधारण औषधीय गुण हुन्छन् । बिहान व्यायामपछि जमराको रस सेवन गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । क्यान्सर, मधुमेह, रक्तचाप, महिलाको महिनावारी सम्बन्धी असन्तुलन, थाइराइड र नसासम्बन्धी रोगमा यसले अद्भुत फाइदा पु¥याउने कुरा वैज्ञानिकरूपमै पुष्टि भइसकेको छ । यसलाई नियमित रूपमा सेवन गर्नेहरूले बाथ, मधुमेह रोगलगायत दीर्घकालीन रोगबाट पनि मुक्ति पाउने अनुभव गरेका छन् । अर्थात्, पूर्वजहरूले जमरालाई पूजा–आराधनाको अविभाज्य अंश बनाएर जीवन र स्वास्थ्यलाई दीर्घकालीन आधार दिएका छन् ।
विजयादशमी
दशैंको दसौँ दिनलाई सबैभन्दा मुख्य दिनका रूपमा मानिन्छ । यस दिन विहान अपराजित देवीको पूजा गरेर मान्यजनबाट टीका र प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । नजिक–टाढा रहेका आफन्तजनलाई सजिलै भेट्न र प्रसाद बाड्न सकियोस् भन्ने उद्देश्यले यस दिन सुरु भएको टीका–प्रसाद ग्रहणको क्रम पूर्णिमासम्म निरन्तर चल्ने गर्दछ ।
यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन । यिनीहरूको विशिष्ट अर्थ र महत्व पनि छ ।
टीका लाउँदा दिइने आशीष:
आयू द्रोणसुते श्रीयां दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
(अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु र दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् । भगवान् रामको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् ।)