Logo

आइतवार, श्रावण २४ गते २०८३

images

परम्परागत सिप र प्रविधि

परम्परागत सिप र प्रविधि

देवीदत्त पौडेल

७, श्रावण २०८२
परम्परागत सिप र प्रविधि
images

हस्तकला हातको सिपबाट बनाइने सिर्जना हो । यो परम्परागत सिप, सिर्जना र संस्वृmतिमा आधारित हुन्छ । गुन्द्री, चकटी, डोको, ढकिया, दुना, टपरी, डालो, नाङ्लो, डोरी, छिटोनी आदि हस्त निर्मित सामग्री हुन् ।

नाङ्लो

नाङ्लो हाम्रो परम्परागत हस्तकला हो । यसको प्रयोग अन्न सफा गर्न, सुकाउन वा भान्सामा विभिन्न कार्यहरू गर्न प्रयोग गरिन्छ । बाँसबाट बनाइने नाङ्लो प्रायः गोलाकार प्रकृतिको हुन्छ । नाङ्लो तयार पार्न बाँस, चक्कु, सुइरो, धागो वा तार आदि सामग्री चाहिन्छन् । सुरूमा बाँसलाई टुक्रा पारेर चोया काडिन्छ । ती चोयालाई गोलो आकारमा व्रmस गर्दै नाङ्लो बुन्न थालिन्छ । नाङ्लो बुनेको भागको किनारामा बिट उठाएर थप चोया, धागो वा तारले बाँधेर बिट कसिलो बनाइन्छ ।

छिटोनी

‘छिटोनी’ बाँसबाट बनाइने घरेलु सामग्री हो । यो ढकिया वा डालो जस्तै गोलो आकृतिको हुन्छ । छिटोनी बनाउनका लागि सुरुमा  बाँसलाई ससाना टुक्रा बनाई चोया तयार पारिन्छ । यो मसिनो चोया प्रयोग गरी बुनिन्छ । यसको मुखको बिट अलि बाक्लो चोया तथा बाँसको टुक्रा लगाएर दह्रो बनाइएको हुन्छ । यसको बहुआयामिक प्रयोग रहेको छ । पिठो, दाल, चामल आदि छिटोनीमा राख्ने गरिन्छ । पात टिप्न, खेतमा खाजा वा खाना पुर्‍याउन, मकै टिप्न पनि प्रयोग गरिन्छ । पाहुना जाँदा छिटनी कतिपयको सगुन बोक्ने साधन पनि हुने गरेको छ । मेला वा हाटबजारमा सामान बेच्न वा किन्न जाँदा छिटोनी प्रयोग गरिन्छ । यो बहुउपयोगी परम्परागत घरेलु प्रविधि हो ।

चकटी

चकटी नेपाली परम्परागत सिप, संस्कृति र आत्मनिर्भरताको प्रतीक हो । यो हातले बनाइने गोलो आकारको बस्ने सिट वा सजावटी सामग्री हो । चकटी पराल, मकैको खोस्टा (पोफ्सर), अल्लो वा धागो प्रयोग गरेर बनाइन्छ । चकटी बुन्न प्रयोग गरिने पराल वा मकैको खोस्टालाई सफा गरेर पानीले केही समय भिजाई नरम पार्नुपर्छ । त्यसपछि ३–५ ओटा परालका खोस्टालाई मिलाएर डोरी झैँ गुथ्नुपर्छ । गुथिएको डोरीलाई गोलो आकृतिमा घुमाउँदै, सुई र धागोको मदतले सिलाइ गर्दै चकटी तयार पार्न सकिन्छ ।

डोको

‘डोको’ नेपाली ग्रामीण जीवनशैलीको प्रतीक हो । यो त्रिकोण वा आयात आकारको टोकरी जस्तो देखिन्छ । डोको बनाउनका लागि बाँस र बुन्ने सिप जानेको मानिस चाहिन्छ । यसका लागि बाँस काँटेर चिरा र चोया बनाउनुपर्छ । चोयालाई क्रस बनाएर हातले बुनिन्छ र आवश्यकतानुसार आकार वा गहिराइ बनाइन्छ । डोकाको माथिल्लो भागमा अलि बाक्लो चोया बेरेर मजबुत बनाइन्छ । खेतबारीका उत्पादन तथा घाँस, दाउरा, मल आदि बोक्न डोकाको प्रयोग गरिन्छ ।

ढकिया

ढकिया बाँसको प्रयोग गरी बनाइन्छ । यो मेसिन वा कारखानामा बनाइँदैन हातले बनाइन्छ । बाँसलाई आवश्यक नापमा काटेर ससाना टुक्रामा फोडिन्छ । चक्कुको मदतले बाँसबाट चोया काडिन्छ । चोया प्रयोग गरी बनाइएको ढकिया हाट र मेलामा बेचेर घरखर्च चलाउन सकिन्छ । ढकियालाई चामल, गहुँ, धान, मकै, दाल आदि राख्न प्रयोग गरिन्छ ।

टपरी

घरमा देवकार्य र पितृकार्य गर्दा दुना, टपरी, बोहोता आदि प्रयोग गरिन्छ । साल वा भोर्लाको पातलाई बाँसको सिन्काले गाँसेर दुना, टपरी, बोहोता तयार पारिन्छ । दुना सानो कचौरा जस्तो हुन्छ । टपरी भने थाली जस्तो हुन्छ ।

गुन्द्री

गुन्द्री बुन्न पराल, डोरी, काठको हतासो चाहिन्छ । यसका लागि समथर ठाउँमा चारओटा किला गाड्नुपर्छ । तलमाथिको किलामा दुईओटा काठ तेर्साउनुपर्छ । काठको हतासोभित्र डोरी छिराएर काठमा बाँध्नुपर्छ । पराल डोरीमा हालेर हतासोले ठोक्दै दायाँबायाँ बिट मार्नुपर्छ । गुन्द्री बस्न, सुत्न आदि काममा प्रयोग गरिन्छ ।

बाबियोको डोरी

घर छाउन, डोरी बाट्न, कुचो बनाउन प्रयोग गरिने झारविशेष नै बाबियो हो । यो कुश जस्ता लामा पात र कोदाका कोसा जस्ता साना फूल फुल्ने झार हो । डोरी बाट्नुभन्दा अगाडि बाबियो काटेर सुकाइन्छ । बाबियो सुकेपछि झन् नरम हुन्छ । त्यसपछि दुवैतिर थोरै बाबियो लिएर दुई हातले रगड्दै र बटार्दै डोरी तयार पारिन्छ । बाबियोको डोरी घरायसी काममा प्रयोग गरिन्छ । दसैँ, तिहार जस्ता चाडपर्वमा बाबियोको डोरी बाटेर पिङ हाल्ने चलन पनि रहेको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०८२ बुधवार - ०७:३१:४१ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology