नेपाललगायत दक्षिणपूर्वी एसियामा विकास भएको चिन्तन प्रणाली पूर्वीय दर्शन हो । यो दर्शन अध्यात्म र अनुभवमा आधारित हुन्छ । अध्यात्ममा आधारित दर्शनले आत्म, परमात्मा, पुनर्जन्म, मोक्ष जस्ता विषयमा जोड दिन्छ । अनुभवमा आधारित दर्शनले ध्यान, योग, साधना आदिको प्रयोगद्वारा प्राप्त ज्ञानलाई मुख्य मान्दछ । धर्म, कर्म, अहिंसा, सहिष्णुता जस्ता नैतिक मूल्यमान्यतालाई जोड दिनु पूर्वीय दर्शनको विशेषता हो । पूर्वीय दर्शनभित्र वेद, उपनिषद्, साङ्ख्य, योग, न्याय, मीमांश, बौद्ध, शिख, जैन दर्शन आदि पर्दछन् ।
कर्म र आचरण जीवनका मूल आधार मानिन्छन् । यी तत्त्वले व्यक्तिको चरित्र निर्माण, सामाजिक जिम्मेवारी र आत्मिक उन्नतिमा प्रभाव पार्छन् ।
पूर्वीय दर्शनअनुसार कर्म
(क) धर्म, सेवा र परोपकारका कर्म गरौँ ।
(ख) फलको आशा नगरी कर्म गरौँ ।
(ग) आफ्नो कर्तव्यअनुसार स्वधर्म पालना गरौँ ।
(घ) कुनै पनि जीवप्रति हिंसा नगरौँ ।
(ङ) सबैप्रति समानताको भावले कर्म गरौँ ।
(च) सत्य, प्रेम र पवित्रताबाट प्रेरित भएर कर्म गरौँ ।
(छ) कर्म फलमा विश्वास राखौँ ।
पूर्वीय दर्शनअनुसार आचरण
(क) सत्य बोलौँ ।
(ख) अहिंसा पालना गरौँ ।
(ग) शुद्ध र पवित्र होऔँ ।
(घ) इन्द्रिय नियन्त्रणमा राखौँ ।
(ङ) तृष्णा, लोभ र घृणाबाट टाढा रहौँ ।
(च) समता र सहिष्णुताको भाव राखौँ ।
पूर्वीय दर्शनका स्रष्टा वेदव्यास हुन् । उनले वैदिक दर्शन, कर्म र धर्मका सिद्धान्त प्रस्तुत गरे । गौतम बुद्धले चार आर्यसत्य, अष्टाङ्गिक मार्ग आदि दर्शन प्रतिपादन गरे । पतञ्जलीले अष्टाङ्ग योगसूत्र तयार पारे । शङ्कराचार्यले ब्रह्म र आत्मा एउटै हुन् भन्ने सिद्धान्त तयार पारे । चाणक्यले व्यावहारिक जीवन र शासन प्रणालीको दर्शनको व्याख्या गरे । पूर्वीय दर्शनलाई समृद्ध बनाउन वेदव्यास, बुद्ध, पतञ्जली, शङ्कराचार्य, चाणक्य, गुरु नानक, महावीर आदिको योगदान महत्त्वपूर्ण छ ।