Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर विक्री खुला

आजदेखि अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर विक्री खुला

देवकी थापा

१८, भाद्र २०८०
आजदेखि अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर विक्री खुला
images

काठमाडौं । आजदेखि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । शत प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । 

कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । यो हकप्रद शेयर असोज ७ गतेसम्म विक्रीमा रहनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - ०६:३१:२३ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology