Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बीमा कम्पनीको पूँजीवृद्धि योजनामा अन्तिम विकल्पमा मर्जर, २४ वटाले मात्र बुझाए पूँजीवृद्धि योजना

बीमा कम्पनीको पूँजीवृद्धि योजनामा अन्तिम विकल्पमा मर्जर, २४ वटाले मात्र बुझाए पूँजीवृद्धि योजना

दैनिकी न्यूज

१२, बैशाख २०७९
बीमा कम्पनीको पूँजीवृद्धि योजनामा अन्तिम विकल्पमा मर्जर, २४ वटाले मात्र बुझाए पूँजीवृद्धि योजना
images

काठमाडौं । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।

बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् । त्यसमा अधिकांशले बोनस शेयरमार्फत पूँजी बढाउने योजनालाई पहिलो नम्बरमा राखेका छन् । हकप्रद शेयर दोस्रो नम्बरमा छ । यी दुई तरीकाले तोकिएको पूँजी पुग्ने अवस्था नआएमात्र उपयुक्त कम्पनी छनोट गरेर छानेर मर्जरमा जाने गरी कम्पनीहरूले क्यापिटल प्लान पेश गरेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीका अधिकारीहरू पनि पहिलो नम्बरमा बोनस शेयर र दोस्रोमा हकप्रद शेयरलाई पूँजी बढाउने विकल्पको रूपमा अघि सारिएको बताउँछन् । त्यसले तोकिएको पूँजी नपुग्ने अवस्था आएमात्र मर्जर रोज्ने उनीहरूको भनाइ छ ।

‘हामीले यसरी नै चुक्तापूँजी बढाउने भनेर समितिमा क्यापिटल प्लान पेश गरेका छौं । अब त्यसमा समितिले कस्तो प्रतिक्रिया जनाउँछ, त्यहीअनुसार पूँजी वृद्धिको योजना अगाडि बढ्न सक्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले भने, ‘चुक्तापूँजी बढाउन दिइएको समय एकदम कम छ । त्यो अवस्थामा बोनस शेयरमार्फत पूँजी पुर्‍याउन सम्भवै हुँदैन । हकप्रद नै उपयुक्त विकल्प हुन सक्छ । त्यसपछि पनि भएन भने मर्जरबारे सोच्नेछौं ।’

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो । हाल जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्छ । त्यसका लागि ३० दिनभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिएको थियो । आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०६:३३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology