Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कहाँ जाँदै छ विप्रेषण ?

कहाँ जाँदै छ विप्रेषण ?

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
कहाँ जाँदै छ विप्रेषण ?
images

काठमाडौं । केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ ।

कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने प्रश्न उठ्न थालेपछि केन्द्रीय बैंक यस्तो निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ । यद्यपि यतिखेर विदेशमा रहेका नेपालीको आम्दानी नै घटेको हो वा नेपालमा विप्रेषण पठाउन कम गरेका हुन् भन्नेबारे यकिन अध्ययन भने भएको छैन ।

कतिपय विज्ञ पछिल्लो समयमा बढ्दै गएको क्रिप्टो करेन्सीमा नेपालीको चाख बढेको हो कि भन्नेसम्मको आंशका गर्छन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने विप्रेषण पठाउनेलाई सरकारी प्रक्रियाको झन्झटले समस्या पारेको तर्क गर्छन् । ‘एकातिर नेपालमा विप्रेषण पठाउँदा महँगो शुल्क लिने गरिन्छ,’ उनले भने, ‘अर्कोतर्फ एकैचोटि विदेशबाट कसैले धेरै रकम पठायो भने सरकारी केरकार पनि हुने गरेको छ ।’ डलरमा विप्रेषण पठाउने कतिपयका बैंक खाता नै बन्द गरिएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेका श्रम, आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेल यतिखेर विप्रेषण घट्दै जानुमा कोरोना महामारीका बेला वैदेशिक रोजगारी एक किसिमले ठप्पजस्तै भएको असर अहिले देखिएको बताउँछन् । ‘कोरोना महामारीका बेला त्यसअघि विदेश गएका नेपालीले विप्रेषण पठाएका थिए,’ उनले भने, ‘तर, महामारीले चरम रूप लिएका बेला गरिएको बन्दाबन्दीले विदेश जानेको संख्या घट्दा अहिले विप्रेषण बढ्न सकेन ।’

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पनि महामारीले चरम रूप लिएका बेला वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमीले अहिले विप्रेषण घटेको अनुमान लगाउँछन् । केही समययता वैदेशिक रोजगारीमा जानेको संख्या पुनः बढ्न थालेपछि विप्रेषण आप्रवाहमा वृद्धि हुने उनको भनाइ छ ।

तर, राष्ट्र बैंककै कतिपय अधिकारीहरू बन्दाबन्दी हटाइएपछि हुन्डी कारोबारीको सक्रियता बढेको हुनसक्ने बताउँछन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा वैदेशिक रोजगारीमा रहेका व्यक्ति घर फर्कंदा सुन, मोबाइल, घडीजस्ता समान ल्याउँदा पनि विप्रेषण आप्रवाह घटेको हुन सक्ने ठान्छन् ।

चालू आर्थिक वर्ष (आव) को पुससम्म वैदेशिक रोजगारीमा गएका युवाले ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ विप्रेषण पठाएका छन् । जुन गतवर्षको सोही अवधिको तुलनामा साढे ५ प्रतिशतले थोरै हो । गतवर्षको १२ महीनामा विदेशमा रहेका नेपालीले ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण पठाएका थिए, जुन अहिलेसम्मकै उच्च हो ।

यो खबर आजको आर्थिक अभियानमा रुद्र खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०५:५४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology